सुदूरपश्चिमका ९ विद्यार्थीले एमबीबीएस छात्रवृत्ति पाउने - Chaitanya News
  • 2026-11-25
  • 15:27:36
  • बुधबार,मंसिर १०, २०८३
  • सुदूरपश्चिमका ९ विद्यार्थीले एमबीबीएस छात्रवृत्ति पाउने

    सुदूरपश्चिमका ९ विद्यार्थीले एमबीबीएस छात्रवृत्ति पाउने

    धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले शैक्षिक सत्र २०८३/८४ मा एमबीबीएस अध्ययन गर्न चाहने ९ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ। छात्रवृत्तिका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले योग्य तथा इच्छुक विद्यार्थीबाट आवेदन माग गरेको छ।

    मन्त्रालयका अनुसार चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका र सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास गर्दै आएका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।

    एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६ को छैटौँ संशोधनअनुसार कुल ९ सिटमध्ये ५ सिट खुला प्रतिस्पर्धाबाट छनोट गरिनेछ भने ४ सिट समावेशी समूहका लागि छुट्याइएको छ।

    समावेशीतर्फ महिलाका लागि एक, आर्थिक रूपमा विपन्न खस आर्यका लागि एक, आदिवासी जनजातिका लागि एक र पिछडिएको क्षेत्रका विद्यार्थीका लागि एक सिट निर्धारण गरिएको मन्त्रालयले जनाएको छ। छात्रवृत्तिका लागि मंसिर १८ गते कार्यालय समयभित्र आवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ।

    छात्रवृत्तिमा छनोट हुने विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि निर्धारण गरेको कुल शिक्षण शुल्क बराबरको रकम उपलब्ध गराइनेछ। उक्त रकम विद्यार्थीलाई एकमुष्ट नभई किस्ताबन्दीमा प्रदान गरिने मन्त्रालयले जनाएको छ।