काठमाडौँ — नेपालको सार्वजनिक ऋणको आकार कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशत नाघेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनाको अवधिसम्म सरकारको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्मको सार्वजनिक ऋण जिडिपीको ४५ दशमलव ०८ प्रतिशत बराबर पुगेको छ।
सरकारको सार्वजनिक ऋणको आकार ठूलो रहे पनि चालु आर्थिक वर्षको सुरुआती चार महिनामा विनिमय दरमा भएको लाभका कारण कुल ऋण दायित्वमा सामान्य कमी देखिएको छ। आर्थिक वर्षको सुरुआतमा २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेको ऋण दायित्व कात्तिक मसान्तसम्म आइपुग्दा करिब ६ अर्ब ५८ करोड रुपैयाँले घटेको प्रतिवेदनले देखाएको छ।
कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ०७ प्रतिशत रहेको छ। रकमका आधारमा सरकारको वैदेशिक ऋण १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण १४ खर्ब ४७ करोड ५९ लाख रुपैयाँ रहेको छ।
ऋण उठाउने लक्ष्यको २३ प्रतिशत मात्रै प्राप्त:
सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। तर, आर्थिक वर्षको पहिलो चार महिनामा लक्ष्यको २३ दशमलव ३७ प्रतिशत अर्थात् १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ मात्रै ऋण प्राप्त भएको छ।
सरकारको ऋण परिचालन योजनाअनुसार आन्तरिक स्रोतबाट ४ खर्ब १० अर्ब रुपैयाँ र वैदेशिक स्रोतबाट २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँ जुटाउने लक्ष्य छ। कात्तिक मसान्तसम्म आन्तरिक ऋणतर्फ १ खर्ब २५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २८ अर्ब ८४ करोड रुपैयाँ प्राप्त भएको छ।
यसअनुसार आन्तरिक ऋण परिचालनको प्रगति ३० दशमलव ४९ प्रतिशत पुगेको छ भने वैदेशिक ऋण परिचालनको प्रगति ११ दशमलव ६२ प्रतिशतमा सीमित छ। प्राप्त कुल ऋणमध्ये ८१ दशमलव २५ प्रतिशत आन्तरिक र १८ दशमलव ७५ प्रतिशत वैदेशिक ऋण रहेको छ।
वार्षिक लक्ष्य पूरा गर्न सरकारले अझै ५ खर्ब ४ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ ऋण परिचालन गर्नुपर्ने देखिन्छ। यसमध्ये आन्तरिक स्रोतबाट २ खर्ब ८५ अर्ब र वैदेशिक स्रोतबाट २ खर्ब १९ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ जुटाउन बाँकी छ।
ऋणको साँवा र ब्याज तिर्न चार महिनामै १ खर्ब ४० अर्ब खर्च:
सरकारका लागि सार्वजनिक ऋण परिचालनसँगै त्यसको साँवा तथा ब्याज भुक्तानी पनि ठूलो वित्तीय दायित्वका रूपमा देखिएको छ। चालु आर्थिक वर्षमा ऋणको साँवा र ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा कात्तिक मसान्तसम्म १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खर्च भइसकेको छ। यो कुल वार्षिक विनियोजनको ३३ दशमलव ७३ प्रतिशत हो।
चार महिनामा भएको ऋण सेवा खर्च कुल गार्हस्थ्य उत्पादनको २ दशमलव १४ प्रतिशत बराबर रहेको छ। ऋण भुक्तानीमा भएको कुल खर्चमध्ये १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ आन्तरिक ऋणतर्फ र २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ वैदेशिक ऋणतर्फ खर्च भएको छ।
आन्तरिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब २८ अर्ब १४ करोड रुपैयाँ छुट्याएको छ। त्यसमध्ये कात्तिक मसान्तसम्म ३६ दशमलव ३२ प्रतिशत खर्च भएको छ। आन्तरिक ऋणको साँवा तिर्न ९९ अर्ब ९४ करोड रुपैयाँ र ब्याज भुक्तानीमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
आन्तरिक ऋणको साँवा भुक्तानीमा वार्षिक बजेटको ४० दशमलव ६४ प्रतिशत खर्च भइसकेको छ भने ब्याज भुक्तानीमा २३ दशमलव ४० प्रतिशत खर्च भएको छ।
त्यस्तै, वैदेशिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ८९ अर्ब ७४ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा चार महिनामा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको २४ दशमलव २३ प्रतिशत हो।
वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड रुपैयाँ र ब्याज भुक्तानीमा ४ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। यसअनुसार वैदेशिक ऋणको साँवा भुक्तानीमा वार्षिक बजेटको २४ दशमलव ०७ प्रतिशत र ब्याज भुक्तानीमा २४ दशमलव ९० प्रतिशत खर्च भएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनले सरकारको कुल ऋण दायित्व जिडिपीको ४५ प्रतिशतभन्दा माथि पुगेको देखाउँदा ऋण परिचालन र भुक्तानी दुवै पक्षमा ठूलो वित्तीय दायित्व रहेको स्पष्ट पारेको छ। विशेषगरी वैदेशिक ऋण परिचालनको न्यून प्रगति र आन्तरिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा भइरहेको खर्चले सरकारी वित्त व्यवस्थापनमा ऋणको प्रभावलाई थप महत्त्वपूर्ण बनाएको छ।