ग्यास आपूर्ति सहज बनाउन निगमको कडाइ, मागअनुसार आयात बढाउन निर्देशन - Chaitanya News
  • 2026-11-25
  • 13:05:55
  • बुधबार,मंसिर १०, २०८३
  • ग्यास आपूर्ति सहज बनाउन निगमको कडाइ, मागअनुसार आयात बढाउन निर्देशन

    ग्यास आपूर्ति सहज बनाउन निगमको कडाइ, मागअनुसार आयात बढाउन निर्देशन

    काठमाडौँ — बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज र नियमित बनाउने उद्देश्यले नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई आयात तथा वितरण प्रणाली थप प्रभावकारी बनाउन निर्देशन दिएको छ।

    निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै बजारको मागअनुसार आपूर्ति व्यवस्थापन गर्न र ग्यासको उपलब्धता सुनिश्चित गर्न विभिन्न कदम चाल्न आग्रह गरेको हो।

    निगमले उद्योगहरूलाई बजारको मागअनुसार ग्यासको आयात अधिकतम रूपमा बढाउन निर्देशन दिएको छ। त्यस्तै, उद्योगमा उपलब्ध भण्डारण क्षमताको पूर्ण उपयोग गरी पर्याप्त ग्यास मौज्दात राख्न र आपूर्ति प्रणालीलाई चुस्त बनाउन पनि जोड दिएको छ।

    यसैगरी, भन्सारमा रोकिएका ग्यास बुलेटहरू समयमै छुटाएर बजारसम्म पुर्‍याउन निगमले उद्योगहरूलाई आग्रह गरेको छ। भन्सार प्रक्रियामा ढिलाइ हुँदा आपूर्ति प्रभावित हुन सक्ने भएकाले त्यस्ता बुलेटलाई शीघ्र आपूर्ति प्रणालीमा समावेश गर्न निर्देशन दिइएको हो।

    बजारमा मागअनुसार ग्यासको उपलब्धता कायम राख्ने, सम्भावित अभावको जोखिम न्यूनीकरण गर्ने तथा वितरण प्रणालीलाई नियमित बनाउने लक्ष्यसहित निगमले उद्योगहरूलाई आयात, भण्डारण र वितरण तीनवटै पक्षमा सक्रिय हुन भनेको छ।