काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले समाजमा विद्यमान लैंगिक हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज तथा सरोकारवाला सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्। उनले हिंसापीडितको सुरक्षा, दोषीमाथि कानुनी कारबाही र पीडितलाई न्यायको सुनिश्चितता गर्न शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न आह्वान गरेका छन्।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैंगिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा व्याख्या गरेका छन्। यस्तो हिंसा समतामूलक र न्यायपूर्ण समाज निर्माणको प्रमुख बाधकसमेत रहेको उनको भनाइ छ।
उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाको बढी जोखिममा रहेको उल्लेख गरेका छन्। पछिल्लो समय प्रविधिको विस्तारसँगै डिजिटल माध्यमबाट हुने हिंसाका घटनासमेत चुनौतीका रूपमा थपिँदै गएको भन्दै त्यसको नियन्त्रणमा पनि विशेष ध्यान दिनुपर्ने बताएका छन्।
प्रधानमन्त्री शाहले संविधानले सुनिश्चित गरेको समानता, सामाजिक न्याय र समावेशिताको अवधारणालाई व्यवहारमा उतार्न सबै प्रकारका हिंसा रोकथाम गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार पीडितको संरक्षण, न्यायमा सहज पहुँच र दोषीलाई कानुनी दायरामा ल्याउने विषयलाई प्रभावकारी बनाउन आवश्यक छ।
सरकारले लैंगिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत संरचना सुदृढ गर्ने, महिलाको सशक्तीकरण गर्ने, बालिका शिक्षालाई प्रवर्द्धन गर्ने तथा पीडितको संरक्षण र पुनर्स्थापनालाई प्राथमिकतामा राखेको प्रधानमन्त्रीले बताएका छन्। यी उद्देश्य हासिल गर्न कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतना अभिवृद्धि र संस्थागत जवाफदेहिता आवश्यक रहेको उनले उल्लेख गरेका छन्।
त्यसैगरी, तीनै तहका सरकारबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। लैंगिक हिंसाविरुद्धको अभियानलाई सरकारी कार्यक्रमका रूपमा मात्र सीमित नगरी सामाजिक आन्दोलनका रूपमा अघि बढाउनुपर्ने सन्देश पनि उनले दिएका छन्।
यस वर्ष भदौमा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा महिला तथा अन्य जोखिममा रहेका समुदायमाथि लैंगिक हिंसाको जोखिम बढ्न सक्ने भएकाले राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताएका छन्। सबै पक्षको साझा प्रयासबाट मात्रै हिंसामुक्त समाज निर्माण सम्भव हुने उनको विश्वास छ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष पनि नोभेम्बर २५ अर्थात् आजदेखि सुरु भएको हो। संयुक्त राष्ट्रसंघले यस वर्ष ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्यका लागि एकजुट बनौँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ अभियान सञ्चालन गर्न आह्वान गरेको छ।
नेपालमा भने ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित विभिन्न कार्यक्रम आयोजना हुँदैछन्।
प्रधानमन्त्री शाहले अभियानका क्रममा सञ्चालन हुने कार्यक्रमले लैंगिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितको अधिकार संरक्षण र न्यायपूर्ण, समतामूलक तथा हिंसामुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
