काठमाडौंः बाढीबाट प्रभावित युवाको शिक्षा, रोजगारी र भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले चैतन्य एकेडेमीले ७ सय युवालाई निःशुल्क प्रतिस्पर्धात्मक परीक्षा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।
‘विपद् प्रभावित युवाका लागि अवसर र भविष्य निर्माण’ अभियानअन्तर्गत एकेडेमीले ‘विपद्ले रोक्न सक्दैन, सपनाले हार मान्दैन’ भन्ने मूल सन्देशसहित विशेष कार्यक्रम अघि सारेको हो।
२०८३ भदौ १० गतेको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका युवालाई लक्षित गरी सञ्चालन गर्न लागिएको कक्षा आगामी मङ्सिर २० गतेदेखि सुरु हुनेछ। बिहान र साँझको समयमा सञ्चालन हुने कक्षामार्फत प्रभावित युवाको क्षमता अभिवृद्धि, आत्मविश्वास विकास र भविष्य निर्माणमा सहयोग पुर्याउने एकेडेमीको लक्ष्य छ।

एकेडेमीका अनुसार अभियानअन्तर्गत लोकसेवा आयोग, शिक्षक सेवा आयोग, सुरक्षा निकाय तथा बैंकिङ क्षेत्रका विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा निःशुल्क सञ्चालन गरिनेछ। जसमा खरिदार, नायब सुब्बा, शाखा अधिकृत, शिक्षक सेवा आयोगको आधारभूत तह, सुरक्षा निकायको सहायक निरीक्षक (असई) तथा बैंकिङ सहायक तहका परीक्षाको तयारी समावेश छ।
१३ वर्षदेखि दक्ष जनशक्ति निर्माणमा सक्रिय
काठमाडौंको शंखमूलमा स्थापना भएको चैतन्य एकेडेमीले विगत १३ वर्षदेखि लोकसेवा आयोग तथा विभिन्न प्रतिस्पर्धात्मक परीक्षाका लागि तयारी कक्षा सञ्चालन गर्दै आएको छ। सरकारी सेवामा प्रवेश गर्न चाहने युवालाई उचित मार्गनिर्देशन, विषयगत ज्ञान, प्रतिस्पर्धात्मक क्षमता र आत्मविश्वास प्रदान गर्ने उद्देश्यले स्थापित एकेडेमीबाट अध्ययन गरेका हजारौँ युवा विभिन्न सरकारी सेवा तथा सार्वजनिक संस्थानमा सिफारिस भइसकेका छन्।
चैतन्य ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश जोशीका अनुसार सरकारी सेवामा प्रवेश गर्न चाहने युवामा प्रतिभा र सम्भावना हुँदाहुँदै पनि उचित मार्गनिर्देशन, गुणस्तरीय शैक्षिक सामग्री र अवसरको अभावमा उनीहरू पछि पर्ने गरेका छन्। यही आवश्यकता सम्बोधन गर्ने उद्देश्यले चैतन्य एकेडेमी स्थापना गरिएको उनको भनाइ छ।

जोशीले विद्यार्थीलाई परीक्षामा सफल बनाउनु मात्र नभई देशको दक्ष जनशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्दै राष्ट्रसेवामा जोड्नु संस्थाको मुख्य उद्देश्य रहेको बताए।
‘सही मार्गनिर्देशन, निरन्तर अभ्यास र गुणस्तरीय प्रशिक्षण प्राप्त गर्ने अवसर पाएमा देशका जुनसुकै भूगोलमा रहेका प्रतिभाशाली युवाले पनि सफलता हासिल गर्न सक्छन् भन्ने हाम्रो विश्वास हो,’ उनले भने।
उनका अनुसार लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ क्षेत्र, नर्सिङ सेवा तथा सुरक्षा निकायलगायत विभिन्न क्षेत्रमा चैतन्यबाट अध्ययन गरेका युवाहरू सफल हुँदै आएका छन्।
निःशुल्क शनिबारीय शृङ्खलाका ३१७ संस्करण
चैतन्य एकेडेमीले आफ्नो शैक्षिक सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि संस्थागत संस्कृतिका रूपमा विकास गर्दै आएको छ। आर्थिक तथा सामाजिक अवस्थाका कारण गुणस्तरीय शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीलाई छात्रवृत्ति तथा निःशुल्क अध्ययनको अवसर प्रदान गर्दै आएको एकेडेमीले कोरोना महामारीपछि निःशुल्क शनिबारीय शृङ्खलालाई निरन्तरता दिँदै आएको छ।
हालसम्म ३१७ वटा शनिबारीय निःशुल्क शृङ्खला सञ्चालन गरिसकेको चैतन्यले देशभरका हजारौँ परीक्षार्थीलाई विज्ञ प्रशिक्षकमार्फत निःशुल्क प्रशिक्षण प्रदान गरेको जनाएको छ।

‘शिक्षा नाफा आर्जन गर्ने क्षेत्र मात्र होइन, समाजको क्षमता र चेतना निर्माण गर्ने माध्यम पनि हो। दक्ष जनशक्ति उत्पादन गर्नु राज्य, शैक्षिक संस्था र समाज सबैको साझा जिम्मेवारी हो,” जोशीले भने, “यही सामाजिक उत्तरदायित्वबोधका साथ हामीले शनिबारीय निःशुल्क शृङ्खला सञ्चालन गर्दै आएका छौँ।’
उनका अनुसार देशका कुना-कन्दरामा रहेका विद्यार्थीले समेत घरमै बसेर विज्ञहरूबाट ज्ञान र मार्गनिर्देशन प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्।
चैतन्यले लोकसेवा आयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षामा सफल भएका उम्मेदवारको सम्मानमा नियमित रूपमा बधाई तथा शुभकामना समारोहसमेत आयोजना गर्दै आएको छ। यस्ता समारोहमा लोकसेवा आयोगका पूर्वअध्यक्ष, पूर्वसचिव, वर्तमान तथा पूर्वउच्च प्रशासक र विषयविज्ञहरूलाई सहभागी गराएर नवप्रवेशी राष्ट्रसेवकलाई सम्मान गर्ने तथा अनुभव आदानप्रदान गराउने गरिएको छ।
जोशीका अनुसार यस्ता कार्यक्रमले सफल उम्मेदवारको आत्मसम्मान र मनोबल अभिवृद्धि गर्नुका साथै भावी राष्ट्रसेवकमा सार्वजनिक सेवाप्रतिको जिम्मेवारी, नैतिकता, सदाचार र सेवाभाव विकास गर्न सहयोग पुर्याउँछन्।
काठमाडौंमा मात्र सीमित छैन चैतन्यको अभियान
गुणस्तरीय प्रतिस्पर्धात्मक परीक्षाको तयारीलाई काठमाडौंमा मात्र सीमित नराख्ने उद्देश्यले चैतन्यले बुटवल र धनगढीमा समेत शाखा विस्तार गरिसकेको छ।
देशका विभिन्न भूगोलमा रहेका युवाले आफ्नै क्षेत्रबाट गुणस्तरीय प्रशिक्षण प्राप्त गर्न सकून् भन्ने उद्देश्यले क्षेत्रीयस्तरमा सेवा विस्तार गरिएको जोशीले बताए।
उनका अनुसार प्रतिभा र क्षमता भूगोलले निर्धारण गर्दैन। तर अवसरको असमान वितरणले सम्भावनायुक्त धेरै युवालाई प्रतिस्पर्धाबाट बाहिर राख्न सक्छ। त्यसैले गुणस्तरीय शिक्षा र प्रशिक्षणको पहुँच देशका सबै क्षेत्रमा पुर्याउनु आवश्यक छ।
विपद् प्रभावित युवाको पुनरुत्थानमा निजी क्षेत्रको पहल
बाढी प्रभावित युवाका लागि सञ्चालन गर्न लागिएको निःशुल्क प्रतिस्पर्धात्मक परीक्षा तयारी कक्षालाई चैतन्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्त्वपूर्ण अभियानका रूपमा लिएको छ।
लामो समयदेखि विपद् प्रभावित क्षेत्रका युवाको अवस्था र उनीहरूको भविष्य निर्माणका लागि के गर्न सकिन्छ भन्ने विषयमा सोचिरहेको बताउँदै जोशीले विपद्बाट प्रभावित युवालाई राहत र पुनःस्थापनासँगै भविष्यप्रति आशावादी बनाउने अवसर पनि आवश्यक रहेको बताए।

“विपद्का कारण धेरै युवाको अध्ययन, रोजगारी र भविष्यका योजनामा असर परेको छ। उनीहरूलाई राहत र पुनःस्थापनासँगै भविष्यप्रति आशावादी बनाउने अवसर पनि आवश्यक छ। हामीले काम गरिरहेको शैक्षिक क्षेत्रबाट उनीहरूलाई सबैभन्दा प्रभावकारी रूपमा सहयोग गर्न सकिने माध्यम गुणस्तरीय निःशुल्क प्रतिस्पर्धात्मक प्रशिक्षण नै हो भन्ने निष्कर्षमा पुग्यौँ,” उनले भने।
उनले प्रभावित युवालाई निःशुल्क कक्षामा सहभागी गराउनु मात्र अभियानको उद्देश्य नभई उनीहरूको आत्मविश्वास फर्काउने, क्षमता विकास गर्ने र जीवनमा नयाँ सम्भावनाका ढोका खोल्ने प्रयाससमेत रहेको बताए।
‘आज विपद्बाट प्रभावित भएका युवा भोलि राष्ट्रको जिम्मेवार प्रशासक, शिक्षक, सुरक्षाकर्मी तथा दक्ष जनशक्ति बन्न सकून् भन्ने हाम्रो अपेक्षा हो,’ जोशीले भने।
निजी क्षेत्रका शैक्षिक संस्था, व्यावसायिक प्रतिष्ठान र सामाजिक संघसंस्थाले आ–आफ्नो कार्यक्षेत्रबाट यस्ता रचनात्मक अभियान सञ्चालन गर्न सके विपद् प्रभावित समुदायको दीर्घकालीन पुनरुत्थानमा महत्त्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ।

चैतन्य एकेडेमीले यस अभियानलाई एउटा निःशुल्क शैक्षिक कार्यक्रमका रूपमा मात्र नभई अवसरको समानता, युवा सशक्तीकरण र राष्ट्र निर्माणसँग जोडिएको सामाजिक प्रतिबद्धताका रूपमा लिएको जनाएको छ।
विपद्ले भत्काएका भौतिक संरचना पुनःनिर्माण गर्न सकिए पनि प्रभावित युवाको सपना र भविष्यलाई पुनःजोड्न अवसर, विश्वास र उचित मार्गनिर्देशन आवश्यक हुन्छ। यही मान्यताका साथ चैतन्यले अघि सारेको अभियानले विपद् प्रभावित युवालाई प्रतिस्पर्धात्मक क्षमतासहित भविष्य निर्माणको बाटोमा अघि बढाउने अपेक्षा गरेको छ।
अवसर पाए हरेक युवा सफल हुन सक्छन् र सक्षम युवा नै समृद्ध राष्ट्रका आधार हुन् भन्ने विश्वाससहित चैतन्यले यो अभियान अघि बढाएको हो।