तीन पुस्तासम्मै अनागरिक बन्ने जोखिम - Chaitanya News
  • 2026-11-25
  • 09:02:22
  • बुधबार,मंसिर १०, २०८३
  • तीन पुस्तासम्मै अनागरिक बन्ने जोखिम

    तीन पुस्तासम्मै अनागरिक बन्ने जोखिम

    काठमाडौँ– नागरिकता नहुँदा शिक्षा, रोजगारी, बैंकिङ सेवा र राज्यबाट प्राप्त हुने सुविधासमेत उपभोग गर्न नपाउने अवस्था भोगिरहेका परिवारको समस्या पुस्तौँसम्म विस्तार हुने जोखिम देखिएको छ। नागरिक पहिचानको अभावमा बालबालिकाको जन्मदर्तासमेत हुन नसक्दा एउटै परिवारका तीन पुस्ता नै राज्यको औपचारिक पहिचानबाट बाहिरिने चिन्ता बढेको छ।

    यसको पीडादायी उदाहरण हुन् पम्फा दर्जी। नेपालमै जन्मिएकी पम्फाले विवाहपछि श्रीमान्को थातथलोबारे जानकारी नराख्दा अहिले नागरिकता प्राप्त गर्न कठिनाइ भोगिरहेकी छन्। श्रीमान्को मृत्यु भएको दुई दशकभन्दा बढी भइसक्दा पनि उनले आफ्नो नागरिकता बनाउन सकेकी छैनन्। त्यसको असर उनका छोराछोरी हुँदै नातिनातिनासम्म पुगेको छ।

    ‘हामी तीन पुस्ता नै अनागरिक हुने भयौँ,’ पम्फाले आफ्नो पीडा सुनाइन्।

    १० सन्तानमध्ये जेठी पम्फाको परिवार आर्थिक रूपमा कमजोर थियो। सिलाइमा सिपालु युवकले परिवार पाल्न सक्ने ठानेर उनका आमाबुबाले विवाह गरिदिएका थिए । विवाह गर्दा न माइती पक्षले श्रीमान्को घरठेगाना सोध्यो, न उनले नै त्यसबारे चासो राखिन्। त्यसपछि सिलाइ र मजदुरी गर्दै उनको जीवन बित्यो।

    रोजगारीका सिलसिलामा ३५ वर्षअघि काठमाडौं आएकी पम्फाले श्रीमान्को मृत्युपछि नागरिकता बनाउने प्रयास गरिन्। तर, माइती पक्षबाट नागरिकता बनाउन खोज्दा विवाह गरेर गएकी छोरीको नागरिकता श्रीमान्तिरबाटै बनाउनुपर्ने भन्दै स्थानीय निकायले फर्काइदियो। श्रीमान्को थातथलो नै थाहा नभएपछि उनी थप समस्यामा परिन्।

    नागरिकता नहुँदा उनका दुई छोराले न रोजगारी सहज रूपमा पाएका छन्, न औपचारिक शिक्षा अघि बढाउन सकेका छन्। बैंक खाता खोल्नसमेत समस्या छ। ज्यामी काम गरेर जीविकोपार्जन गर्दै आएका छोराहरूले नागरिकता नभएकै कारण रोजगारीसमेत गुमाउनुपरेको उनको भनाइ छ। अहिले नातिनातिनाको जन्मदर्ता हुन नसक्दा उनीहरू विद्यालय जानबाट समेत वञ्चित छन्।

    ‘आखिर म पनि यही देशको नागरिक हुँ। मेरो जन्मथलो यही देश हो। मेरो नागरिकता किन बन्दैन रु बुझ्नै सकिनँ,’ उनले भनिन्।

    पम्फाको जस्तै नागरिक पहिचानको समस्या सडक बालबालिकाका रूपमा हुर्किएका युवाहरूले पनि भोगिरहेका छन्। आफन्तको पहिचान र आवश्यक कागजात नहुँदा उनीहरू नागरिकता प्राप्त गर्नबाट वञ्चित छन्।

    सडक बालबालिकाका रूपमा जीवन बिताएका सञ्जय राई किशोरावस्थामा पुग्दासमेत नागरिकताविहीन छन्। जसोतसो तेक्वान्दो खेलाडी बनेका उनले विद्यालयमा प्रशिक्षण दिने काम पाएका छन्। तर, नागरिकता नहुँदा आफ्नो पारिश्रमिक लिनसमेत समस्या हुने गरेको उनले बताए।

    आफूले सञ्चालन गर्दै आएको टिकटक खाता पनि अरूकै नाममा रहेको र त्यसमा आएको पाँच लाख रुपैयाँसमेत अरूले नै राखेको उनको गुनासो छ। मोबाइलको सिमकार्डसमेत अरूकै नाममा लिनुपर्ने बाध्यता रहेको उनले बताए।

    ‘नागरिकता नहुँदा बैंक खाता खोल्नसमेत नसक्नुजस्तो विडम्बना अरू के हुन्छ रु’ उनले प्रश्न गरे।

    साथसाथ संस्थाको सहयोगमा प्रतिनिधिसभाका सांसदहरूसँगको छलफलमा सहभागी उनले आफ्नो नागरिकताको समस्या कहिले समाधान हुन्छ भन्दै प्रश्न गरेका थिए।

    सञ्जयजस्तै नागरिकताविहीन अवस्थामा रहेकी अञ्जु गुरुले पनि बाल्यकाल पशुपति क्षेत्रमा सडकमा बिताइन्। किशोरावस्थामै विवाह गरेकी उनका श्रीमान् पनि सडक मानव हुन्। दुवैसँग नागरिकता नहुँदा उनीहरूको जीवनयापन र भविष्य थप अनिश्चित बनेको छ।

    ‘नागरिकता भए रोजगारी पाउने थिएँ । भविष्य उज्ज्वल हुन्थ्यो। अहिले अँध्यारोमा बाँचिरहेका छौँ। न पहिचान छ, न सम्मान नै,’ उनले भनिन्।

    साथसाथ संस्थाले हालै गरेको सडक बालबालिकासम्बन्धी सर्वेक्षणले पनि नागरिक पहिचानको समस्या गम्भीर रहेको देखाएको छ। सर्वेक्षणमा समेटिएका १५० सडक बालबालिकामध्ये ९३ प्रतिशतलाई जन्मदर्ताबारे जानकारी नै नभएको पाइएको छ।

    सर्वेक्षणअनुसार ६५ प्रतिशत बालबालिकाका अभिभावकसँग आवश्यक कागजात छैनन् भने ३५ प्रतिशतका समस्या बाबुको पहिचान नखुल्ने, बेपत्ता हुने तथा वैवाहिक अवस्थासँग सम्बन्धित छन्। त्यस्तै, ४५ प्रतिशतसँग कुनै पनि परिचयपत्र वा कागजात नभएकाले उनीहरू औपचारिक रोजगारी तथा सरकारी सुविधाको पहुँचबाट बाहिर रहेको देखिएको छ।

    जन्मदर्ता हुन नसकेका घटनामध्ये बाबुको कागजात नभएका ६५, बाबु बेपत्ता भएका ४५, आमाको कागजात नभएका २७, बहुविवाहका २५, बाबुआमा दुवैको कागजात नभएका ४५, सँगै बसोबास गर्ने जोडीका तीन र विदेशी नागरिक बाबुको पहिचानसम्बन्धी पाँच घटना रहेको संस्थाले जनाएको छ।

    नागरिकताको समस्या समाधानका लागि कानुनी व्यवस्थाको व्यावहारिक कार्यान्वयन सहज बनाउनुपर्ने आवाज पनि उठेको छ। कानुन, न्याय तथा मानव अधिकार समितिका सांसद मधुसूदन चौलागाईंले नागरिकता मौलिक अधिकार भएकाले कुनै पनि नागरिक यसबाट वञ्चित हुन नहुने बताए।

    अभिभावकको पहिचान नखुलेको वा आवश्यक कागजात प्रमाणित हुन नसकेको अवस्थामा नागरिकलाई सहज जीवनयापनका लागि अस्थायी परिचयपत्रको व्यवस्था गर्नुपर्ने उनको धारणा छ। नागरिकता वितरण प्रक्रिया सहज बनाउन समितिमार्फत आवश्यक कार्यविधि तयार गर्ने पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

    अधिकारकर्मी एवं साथसाथ संस्थाकी स्रोत कार्यकारी कविता शाहले नागरिकता र जन्मदर्ताका लागि कानुनी व्यवस्था भए पनि व्यावहारिक कार्यान्वयन जटिल हुँदा धेरै युवा नागरिक पहिचानबाट वञ्चित हुनुपरेको बताइन्।

    ‘कानुन राम्रो बनेको छ, यद्यपि व्यावहारिक पक्ष कमजोर हुँदा धेरै युवा पुस्ता अनागरिक बन्न बाध्य छन्,’ उनले भनिन्।

    नागरिकता र जन्मदर्ताको अभाव केवल कागजातको समस्या नभई शिक्षा, रोजगारी, आर्थिक अवसर र सामाजिक सम्मानसँग जोडिएको विषय बनेको छ। समयमै समस्या समाधान हुन नसके पम्फाले चिन्ता गरेझैँ नागरिक पहिचानविहीन अवस्थाको असर आगामी पुस्तासम्म पुग्ने जोखिम देखिएको छ।