उपत्यकासहित तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने, हिमाली क्षेत्रमा आंशिक बदली - Chaitanya News
  • 2026-11-25
  • 08:58:04
  • बुधबार,मंसिर १०, २०८३
  • उपत्यकासहित तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने, हिमाली क्षेत्रमा आंशिक बदली

    उपत्यकासहित तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने, हिमाली क्षेत्रमा आंशिक बदली

    काठमाडौँ– देशका अधिकांश भूभागमा आजको मौसम मुख्यतया सफा रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन। यद्यपि कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ।

    महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

    त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    यसैबीच, बिहीबार बिहान काठमाडौँ उपत्यका तथा विभिन्न खोँचहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाको पूर्वानुमान छ।

    महाशाखाका अनुसार ती क्षेत्रका केही स्थानमा अहिले पनि हुस्सु लागिरहेको छ। बिहानको समयमा हुस्सु र कुहिरोको प्रभाव रहन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा सडक यातायात गर्नेहरूले सतर्कता अपनाउनुपर्ने देखिन्छ।