काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक लहर नचल्ने बताएका छन्। उनले स्थानीय निर्वाचनमा उम्मेदवारको इतिहास, पृष्ठभूमि र कामका आधारमा मतदाताले निर्णय गर्ने भएकाले चुनाव जित्न कार्यकर्तालाई सक्रिय भएर लाग्न निर्देशन दिएका छन्।
मंगलबार तनहुँमा पार्टीको जागरण अभियानअन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय तहको निर्वाचन संघीय निर्वाचनभन्दा फरक हुने बताएका हुन्। उनका अनुसार स्थानीय तहमा मतदाताले उम्मेदवारको व्यक्तिगत पृष्ठभूमि, सामाजिक सम्बन्ध र विगतका कामसमेत मूल्यांकन गर्ने भएकाले जसलाई मत दिए पनि हुने अवस्था रहँदैन।
उनले स्थानीय निर्वाचनलाई हल्का रूपमा लिन नहुने भन्दै पार्टीका नेता तथा कार्यकर्ताले चुनाव जित्ने लक्ष्यसहित संगठन परिचालन गर्नुपर्नेमा जोड दिए।
‘स्थानीय तहमा पहिलाको जस्तो हुरी बतास आउन सम्भव छैन। स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भनेर हुँदैन । सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, नातागोता कोको छन्। अब हामीले नै जस्तो हुन्छ, हुन्छ भनेर छोडिदियौं भने र हामी त हार्नेवाला नै हो भनेर हिंड्यो भने त एउटा कुरा हो,’ उनले भने।
प्रचण्डले नयाँ राजनीतिक दलले गरेका कामबारे नागरिकले विस्तारै बुझ्दै गएको पनि बताए । नयाँ दलप्रतिको आकर्षण र उनीहरूको कार्यसम्पादनबारे गाउँघरमा समेत जानकारी पुर्याउन बाँकी रहेको उनको भनाइ थियो।
स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याउन सके मुलुकलाई पुनः क्रान्तिको दिशामा अघि बढाउन सकिने दाबी गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई चुनावी तयारीमा जुट्न आग्रह गरे।
‘हामीले कसिएर स्थानीय तहको चुनाव जित्ने हो भनेर लाग्ने हो भने संघको जस्तो हुँदैन। इतिहास र पृष्ठभूमि थाहा नभइ भोट हाल्दैनन्। नयाँको काम बुझ्नेले त बुझिसकेका छन्। गाउँघरमा बुझाउन बाँकी छ,’ उनले भने।
स्थानीय निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउन सकिने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि सबैले गम्भीरतापूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए।