काठमाडौँ– सरयू–कमला एक्सप्रेस रेल सेवाले जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप विस्तार गर्ने युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बताएका छन्।
सरयू–कमला एक्सप्रेस जनकपुरधाम आइपुगेपछि आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री यादवले रेल सेवा सञ्चालनले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा अझ प्रगाढ बनाउने बताए।
उनका अनुसार यो रेल सेवा दुई देशबीच यात्रु आवतजावत गर्ने माध्यम मात्रै नभई साझा इतिहास, संस्कृति र धार्मिक आस्थालाई जोड्ने महत्वपूर्ण कडीसमेत हो। विशेषगरी अयोध्या र जनकपुरधामबीच रहँदै आएको धार्मिक तथा पारिवारिक सम्बन्धलाई रेल सेवाले थप मजबुत बनाउने उनको भनाइ छ।
मन्त्री यादवले यसै महिनाको अन्त्यमा आयोजना हुने विवाह पञ्चमी महोत्सवमा अयोध्याबाट जनकपुरधाम आउने श्रद्धालुका लागि रेल सेवा उपयोगी हुने बताए। रेल सञ्चालनले धार्मिक पर्यटकको आवागमन सहज बनाउनुका साथै दुई सहरबीचको सांस्कृतिक आदानप्रदानलाई समेत प्रोत्साहन गर्ने उनले उल्लेख गरे।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा मङ्सिर ७ गते शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा सरयू–कमला एक्सप्रेस रेल सेवाको शुभारम्भ गरेका थिए।
रेल सेवाको उद्घाटनका क्रममा प्रधानमन्त्री शाहले राम–जानकीको ऐतिहासिक सम्बन्धलाई नयाँ पुस्ताका लागि विकास र साझेदारीको अवसरमा रूपान्तरण गर्नुपर्ने धारणा राखेको मन्त्री यादवले स्मरण गरे।
त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले ‘नेपालबिना हाम्रा धाम अधुरा छन्, नेपालबिना हाम्रा राम पनि अधुरा छन्’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै मन्त्री यादवले यसले अयोध्या र जनकपुरधामबीचको धार्मिक तथा सांस्कृतिक निकटता स्पष्ट पारेको बताए ।
उनले रेल सेवा सञ्चालनका लागि पहल गर्ने नेपाल र भारतका प्रधानमन्त्री, दुवै देशका सरकार, भारतको रेल मन्त्रालय, नेपालको पूर्वाधार विकास मन्त्रालय तथा सम्बन्धित निकायलाई धन्यवादसमेत दिए।