काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारका कारण हिमाली क्षेत्रका औषधीय वनस्पति तथा च्याउको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताएकी छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हिमाली प्राकृतिक सम्पदाको संरक्षण र दिगो उपयोगका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी हुन्।
मन्त्री चौधरीले हिमालयलाई पहाडको शृङ्खलाका रूपमा मात्रै नभई जीवन, पहिचान र समृद्धिको साझा स्रोतका रूपमा बुझ्नुपर्ने उल्लेख गरिन्। हिमाली वन तथा प्राकृतिक भूदृश्यले नदी प्रणालीलाई जीवन्त राख्न, जैविक विविधता जोगाउन र लाखौँ मानिसको जीविकोपार्जनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको उनको भनाइ थियो।
उनले जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ हिमाली क्षेत्रका स्थानीय समुदायका लागि आयआर्जन, मर्यादा र आशाका आधार भएको बताइन्। यस्ता प्राकृतिक स्रोतको दिगो उपयोग गर्न सके हरित तथा न्यायपूर्ण अर्थतन्त्र निर्माणमा समेत योगदान पुग्ने उनले उल्लेख गरिन्।
हिमाली जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धि सुनिश्चित गर्न छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य आवश्यक रहेको मन्त्री चौधरीले बताइन्।
उनले हिमाली क्षेत्रका साझा चुनौती समाधान गर्न कुनै एक देशको प्रयास मात्रै पर्याप्त नहुने धारणा राखिन्। जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारजस्ता समस्या समाधानका लागि हिमाली मुलुकबीच साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो।
‘हिमालयले हामीलाई जोडेको छ, हाम्रा नीति र साझेदारीहरूले पनि त्यो जोडाइलाई प्रतिबिम्बित गर्नुपर्छ,’ उनले भनिन्।
मन्त्री चौधरीले क्षेत्रीय सहकार्य अघि बढाउँदा सम्बन्धित मुलुकको राष्ट्रिय सार्वभौमसत्ता, घरेलु कानुन र राष्ट्रिय प्राथमिकताको सम्मान गर्नुपर्नेमा समेत जोड दिइन्।