रूपन्देही– लुम्बिनी आउने पर्यटकको बसाइ लम्ब्याउने र पर्यटनबाट प्राप्त हुने आर्थिक लाभ ग्रामीण समुदायसम्म पुर्याउने उद्देश्यले तीनवटा साइकल मार्ग सञ्चालनमा ल्याइएको छ। धार्मिक तथा आध्यात्मिक पर्यटनका लागि प्रसिद्ध लुम्बिनीलाई अब ग्रामीण जीवनशैली, स्थानीय संस्कृति, पुरातात्त्विक सम्पदा र प्राकृतिक स्थलसँग जोड्ने प्रयास थालिएको हो।
लुम्बिनी होटल संघ नेपालको पहल तथा पर्यटन क्षेत्रका सरोकारवालाको सहकार्यमा दिगो पर्यटन परियोजनाअन्तर्गत मङ्गलबारदेखि लुम्बिनी साइकल यात्रा सुरु गरिएको हो। यस अभियानअन्तर्गत आठ, १६ र २४ किलोमिटरका तीनवटा साइकल मार्ग तयार पारिएका छन्।
साइकल यात्रामार्फत पर्यटकलाई मायादेवी मन्दिर र पवित्र उद्यानको भ्रमणमा मात्र सीमित नराखी आसपासका गाउँबस्ती, खेतीयोग्य जमिन, पुरातात्त्विक सम्पदा, प्राकृतिक स्थल र स्थानीय जनजीवनको अनुभव गराउने लक्ष्य राखिएको छ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक खड्गविक्रम शाहले पर्यटन विकासलाई पर्यटकको सङ्ख्या बढाउने विषयमा मात्र केन्द्रित गर्न नहुने बताए। वातावरण संरक्षण, स्थानीय जीविकोपार्जन र समुदायले प्रत्यक्ष लाभ पाउने गरी पर्यटन गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रलाई साइकलका माध्यमबाट जोड्दा ग्रामीण समुदाय, स्थानीय संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय पर्यटकसमक्ष चिनाउन सकिने उनले बताए। साइकल पर्यटनले पर्यटकको बसाइ अवधि लम्ब्याउनुका साथै स्थानीय उत्पादनको बजार विस्तार र ग्रामीण अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनको विश्वास छ।
उनले अभियानलाई दीर्घकालीन बनाउन लुम्बिनी विकास कोष, स्थानीय सरकार, होटल व्यवसायी र पर्यटन क्षेत्रका सरोकारवालाबीच सहकार्य आवश्यक रहेको औँल्याए।
लुम्बिनी विकास कोषका उपाध्यक्ष आनीछोइङ डोल्माले लुम्बिनीको तीर्थाटनलाई साइकल यात्रा र शान्त वातावरणसँग जोड्नुपर्ने बताइन् । बुद्ध जन्मस्थल आउने पर्यटक तथा तीर्थयात्रीले यहाँको शान्ति, प्रकृति र आध्यात्मिक वातावरणको अनुभूति गर्न पाउनुपर्नेमा उनले जोड दिइन्।
गाडीको अत्यधिक प्रयोग, होहल्ला र भीडभाडले लुम्बिनीको मौलिक शान्त वातावरण प्रभावित हुन सक्ने भन्दै उनले साइकल प्रयोगले वातावरण संरक्षण र स्वास्थ्यमा समेत सकारात्मक योगदान पुर्याउने बताइन्।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले साइकल यात्रा अभियानले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, सरसफाइ र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। लुम्बिनीलाई धार्मिक गन्तव्यका साथै स्वच्छ र हराभरा पर्यटकीय नगरका रूपमा विकास गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१० बाट सुरु हुने तीनवटा साइकल मार्गले पर्यटकलाई फरकफरक अनुभव प्रदान गर्नेछन्।
आठ किलोमिटर लामो ‘मैत्री मार्ग’ पूरा गर्न दुईदेखि तीन घण्टा लाग्नेछ। यस मार्गमा मन्दिर, पोखरी, खेतीयोग्य जमिन, ग्रामीण बस्ती र स्थानीय हस्तकला केन्द्रको अवलोकन गर्न सकिनेछ।
त्यस्तै, १६ किलोमिटर लामो ‘प्रज्ञा मार्ग’ पूरा गर्न चारदेखि पाँच घण्टा लाग्नेछ। यस मार्गमा खेतबारी, नदी किनारका गाउँ, चराचुरुङ्गी, वन्यजन्तु, कुम्हार बस्ती, स्थानीय बजार र झोलुङ्गे पुलको अवलोकन गर्न पाइनेछ।
२४ किलोमिटर लामो ‘करुणा मार्ग’ पूरा गर्न सातदेखि आठ घण्टा लाग्नेछ। यस मार्गले पर्यटकलाई नदीपारिका बस्ती, पुराना गाउँ, आश्रम, खेतीपाती र ऐतिहासिक स्थलसम्म पुर्याउनेछ।
यी मार्ग सञ्चालनमा आएसँगै लुम्बिनीको मूल पर्यटकीय क्षेत्रभन्दा बाहिर रहेका गाउँबस्ती पनि पर्यटन गतिविधिसँग जोडिने अपेक्षा गरिएको छ।