काठमाडौँ– सरकारले अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिँदै पहिलोपटक पुँजीगत खर्चको एक प्रतिशत रकम यस क्षेत्रमा छुट्याएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल बनाउन अनुसन्धान र प्रविधिमा लगानी वृद्धि गर्ने सरकारको योजना रहेको बताएका छन्।
मंगलबार काठमाडौंस्थित इजरायली राजदूतावासमा आयोजित ‘इजरायल साइबर तथा कृत्रिम बौद्धिकता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री पुनले अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर सरकारले छुट्टै मन्त्रालय स्थापना गरेको बताए।
उनका अनुसार अनुसन्धान र नवप्रवर्तनमार्फत मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने सरकारको लक्ष्य छ। प्रधानमन्त्री पनि यसै विषयमा दृढ रहेको उल्लेख गर्दै उनले अनुसन्धानमा लगानी बढाउन सरकारले हरसम्भव प्रयास गरिरहेको बताए।
सरकारले कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, ड्रोन, कृषि तथा जैविक चिकित्सा इन्जिनियरिङलगायतका क्षेत्रमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना बनाएको पनि मन्त्री पुनले जानकारी दिए।
कार्यक्रममा नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले साइबर सुरक्षा र कृत्रिम बौद्धिकता क्षेत्रमा इजरायलले हासिल गरेको अनुभव प्रस्तुत गरेका थिए । उनले ज्ञान आदानप्रदान तथा संस्थागत साझेदारीमार्फत नेपालसँग प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस अवसरमा चार सदस्यीय इजरायली प्रतिनिधिमण्डलले नेपाल–इजरायल सम्बन्धका साथै कृत्रिम बौद्धिकता र नवप्रवर्तनका विभिन्न आयामबारे चर्चा गरेको थियो।
प्रतिनिधिमण्डलले नेपालको भौगोलिक बनोट र अनुकूल मौसमलाई साइबर सुरक्षाको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनासमेत औँल्याएको थियो।