विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी घर र समुदायबाटै सुरु हुनुपर्छ: मुख्यमन्त्री भट्ट - Chaitanya News
  • 2026-11-26
  • 13:14:30
  • बिहिबार,मंसिर ११, २०८३
  • विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी घर र समुदायबाटै सुरु हुनुपर्छ: मुख्यमन्त्री भट्ट

    विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी घर र समुदायबाटै सुरु हुनुपर्छ: मुख्यमन्त्री भट्ट

    कञ्चनपुरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् जोखिम न्यूनीकरण र दिगो विकासका लागि वास्तविक पूर्वतयारी प्रत्येक व्यक्तिको घर, परिवार र समुदायबाटै सुरु हुनुपर्ने बताएका छन्। उनले विपद् आइसकेपछि उद्धार र राहतमा केन्द्रित हुनुभन्दा विपद् आउनुअघि नै आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए।

    वेदकोट नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको व्यवस्थापकीय साझेदारीमा आयोजित छैटौँ कञ्चनपुर सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन्।

    ‘उत्थानशीलता घरबाटै सुरु हुन्छ’ भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनमा बोल्दै उनले सुदूरपश्चिम प्रदेश र विशेषगरी कञ्चनपुर जिल्ला बाढी, डुबान, कटान तथा जलवायु परिवर्तनका असरको उच्च जोखिममा रहेको बताए।

    प्रत्येक वर्ष वर्षायाममा महाकाली, दोदा, बनरा, जोगबुढालगायतका स्थानीय नदी तथा खोलाले पुर्‍याउने क्षतिले जनजीवन, कृषि र पूर्वाधार प्रभावित हुँदै आएको उल्लेख गर्दै उनले विपद् व्यवस्थापनमा पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताए।

    ‘विपद् आइसकेपछि राहत र उद्धारमा मात्र केन्द्रित हुनुभन्दा विपद् आउनुअघि नै पूर्वतयारी गर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र समुदायलाई सक्षम बनाउने कार्य आजको प्रमुख आवश्यकता हो,’ उनले भने।

    संघीयताको मर्मअनुसार नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले सुरक्षित र उत्थानशील समुदाय निर्माणमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने मुख्यमन्त्री भट्टले बताए। कञ्चनपुरका स्थानीय तहहरूले सुरक्षित समुदाय निर्माणका लागि थालेको सामूहिक प्रयास प्रदेशकै लागि अनुकरणीय रहेको उनको भनाइ थियो।

    विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लक्ष्य हासिल गर्न प्रदेश सरकार स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको उनले बताए। नीति, बजेट र प्राविधिक सहयोगमार्फत स्थानीय सरकारको क्षमता अभिवृद्धिमा प्रदेश सरकारले साथ दिने उनको भनाइ थियो।

    विकास निर्माणका कामलाई वातावरणमैत्री र विपद् प्रतिरोधी बनाउन तीनै तहका सरकार, विकास साझेदार संस्था र नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा पनि उनले जोड दिए।

    सम्मेलनमा वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख र सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    सम्मेलनले विगतका अनुभव र सिकाइको समीक्षा गर्दै विपद् जोखिम न्यूनीकरण, जलवायु अनुकूलन तथा उत्थानशील समुदाय निर्माणका लागि आगामी दिनमा ठोस कार्ययोजना तय गर्ने विश्वास मुख्यमन्त्री भट्टले व्यक्त गरे।