काठमाडौं — काठमाडौंमा दैनिक उत्पादन हुने जैविक फोहोरलाई ऊर्जा स्रोतका रूपमा प्रयोग गरी आसपासका घरपरिवारलाई खाना पकाउने ग्यास उपलब्ध गराउने तयारी गरिएको छ। विगत १० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परीक्षण सुरु भएसँगै महानगर क्षेत्रमा फोहोर व्यवस्थापन र वैकल्पिक ऊर्जा उत्पादनलाई जोड्ने योजना अघि बढाइएको हो।
काठमाडौं महानगरपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले प्लान्टको परीक्षण शुभारम्भ गरे। यसअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई प्लान्ट सञ्चालनका लागि हस्तान्तरण गरेका थिए।
पुनः सञ्चालनमा ल्याउन लागिएको प्लान्टबाट दैनिक तीन टन जैविक फोहोर प्रशोधन गरी करिब १५० घनमिटर बायोग्यास उत्पादन गर्ने लक्ष्य राखिएको छ। उत्पादित ग्यास पाइपलाइनमार्फत आसपासका करिब १०० घरपरिवारसम्म पुर्याउने योजना छ।
यसअघि विद्युत् उत्पादन गर्ने उद्देश्यले डिजाइन गरिएको प्लान्टलाई अहिले भने प्रत्यक्ष रूपमा उपभोक्तालाई ग्यास उपलब्ध गराउने गरी सञ्चालन गर्न लागिएको हो। प्राविधिक अध्ययनका क्रममा विद्युत् उत्पादनभन्दा उत्पादित ग्यासलाई सिधै उपभोगमा ल्याउनु उपयुक्त देखिएपछि सञ्चालनको मोडेल परिवर्तन गरिएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ।
केन्द्रका कार्यकारी निर्देशक ढकालका अनुसार ऊर्जा मन्त्रालयको निर्देशन र काठमाडौं महानगरपालिकासँगको सहकार्यमा प्लान्टको प्राविधिक तथा व्यवस्थापकीय अवस्थाको अध्ययन गरी पुनर्स्थापना गरिएको हो। करिब एक दशकअघि निर्माण भएर केही समय सञ्चालनमा आएपछि बन्द भएको प्लान्टलाई नयाँ अवधारणासहित पुनः सञ्चालन गर्न लागिएको उनले बताए।
प्लान्टको दीर्घकालीन सञ्चालन सुनिश्चित गर्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेल अपनाउने विषयमा समेत छलफल भइरहेको छ। निजी क्षेत्रलाई सञ्चालन व्यवस्थापनमा सहभागी गराएर स्वामित्व भने महानगरपालिकामै रहने गरी सञ्चालन गर्ने अवधारणा अघि सारिएको छ।
विश्व बैंककी अपरेसन म्यानेजर रिता ढकालले प्लान्टबाट उत्पादन हुने बायोग्यासले स्थानीय घरपरिवारलाई वैकल्पिक ऊर्जा उपलब्ध गराउनुका साथै वातावरणीय प्रदूषण न्यूनीकरणमा पनि योगदान पुर्याउने बताइन्।
उनका अनुसार ल्यान्डफिल साइट तथा डम्पिङ क्षेत्रमा जैविक फोहोर कुहिँदा मिथेन ग्यास उत्सर्जन हुन्छ। त्यस्तै, खुला रूपमा फोहोर जलाउँदा ब्ल्याक कार्बन उत्सर्जन हुने भएकाले जैविक फोहोरलाई व्यवस्थित रूपमा प्रशोधन गर्नु जलवायु परिवर्तन न्यूनीकरणका लागि पनि महत्वपूर्ण हुन्छ।
विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालित मिनी ग्रिड इनर्जी एक्सेस परियोजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौं महानगरपालिकाले प्लान्टको पुनर्स्थापना गरेका हुन्। सन् २०१७ मा युरोपेली संघको सहयोगमा स्थापना गरिएको प्लान्ट विभिन्न प्राविधिक तथा व्यवस्थापकीय समस्याका कारण लामो समयसम्म सञ्चालन हुन सकेको थिएन।
रिता ढकालका अनुसार विगतमा प्लान्ट सञ्चालन हुन नसक्नुका कारण पहिचान गरेर यसपटक यसको अवधारणा नै परिवर्तन गरिएको छ। अब विद्युत् उत्पादनमा केन्द्रित नभई समुदायलाई प्रत्यक्ष बायोग्यास उपलब्ध गराउने लक्ष्य राखिएको छ। यसले घरपरिवारको खाना पकाउने इन्धनमा हुने खर्च घटाउन र एलपी ग्यासमाथिको निर्भरता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तर प्लान्टको नियमित सञ्चालनका लागि घरघरबाटै जैविक र अजैविक फोहोर छुट्याउने व्यवस्था प्रभावकारी हुनुपर्नेमा उनले जोड दिइन्। फोहोरको स्रोतमा नै वर्गीकरण हुन नसके प्लान्टमा आवश्यक गुणस्तर र परिमाणको जैविक फोहोर उपलब्ध गराउन कठिन हुने उनको भनाइ छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार विश्व बैंकको सहयोगमा यसअघि सात स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ठूला बायोग्यास प्लान्ट निर्माण भइसकेका छन्। निजी क्षेत्रको सहभागितामा २० वटाभन्दा बढी व्यावसायिक बायोग्यास प्लान्टसमेत स्थापना भएका छन्।
त्यसैगरी, केन्द्रले हरित जलवायु कोषसमक्ष ४८ मिलियन अमेरिकी डलरको फोहोर व्यवस्थापनसम्बन्धी परियोजना प्रस्ताव गरेको छ। प्राप्त सुझावअनुसार प्रस्तावलाई अघि बढाउने काम भइरहेको केन्द्रले जनाएको छ। नेपाल र स्विडेनबीच पेरिस सम्झौताको धारा ६.२ अन्तर्गत द्विपक्षीय सम्झौता भएपछि निजी क्षेत्रको सहभागितामा ठूला बायोग्यास आयोजना सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ।
काठमाडौंमा फोहोर व्यवस्थापन लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको अवस्थामा जैविक फोहोरलाई ऊर्जा उत्पादनमा प्रयोग गर्ने यो प्रयासलाई वैकल्पिक व्यवस्थापनको एउटा नमुनाका रूपमा हेरिएको छ। यद्यपि, १० वर्षसम्म बन्द रहेको प्लान्टलाई पुनः सञ्चालनमा ल्याउनु मात्रै पर्याप्त हुने छैन। नियमित जैविक फोहोरको आपूर्ति, प्राविधिक व्यवस्थापन र निजी क्षेत्रको सहभागितामार्फत यसको दिगोपना सुनिश्चित गर्नुपर्ने चुनौती पनि उत्तिकै महत्वपूर्ण हुनेछ।