त्रिविमा पुराना बेथितिका फाइल खुल्दै, शुल्क घोटालामा दोषी उम्किन नदिने उपकुलपति थापाको चेतावनी - Chaitanya News
  • 2026-11-26
  • 12:01:42
  • बिहिबार,मंसिर ११, २०८३
  • त्रिविमा पुराना बेथितिका फाइल खुल्दै, शुल्क घोटालामा दोषी उम्किन नदिने उपकुलपति थापाको चेतावनी

    त्रिविमा पुराना बेथितिका फाइल खुल्दै, शुल्क घोटालामा दोषी उम्किन नदिने उपकुलपति थापाको चेतावनी

    काठमाडौं — त्रिभुवन विश्वविद्यालयमा वर्षौंदेखि थुप्रिएका आर्थिक अनियमितता र प्रशासनिक बेथितिका फाइल खुल्न थालेका छन्। जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा विद्यार्थीको शुल्कमा भएको भनिएको २० करोड रुपैयाँभन्दा बढीको घोटालामाथि कारबाही प्रक्रिया अघि बढाउने तयारीसँगै विश्वविद्यालयको नयाँ नेतृत्वले अन्य क्याम्पसका आर्थिक गतिविधिमाथि समेत अनुसन्धान गर्ने संकेत गरेको छ।

    त्रिविका उपकुलपति प्रा.डा. भोला थापाले राराब क्याम्पसको शुल्क घोटालामा संलग्न दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने बताएका छन्। उनका अनुसार उक्त प्रकरणबारे गठित छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ र अहिले विश्वविद्यालयले त्यसको अध्ययन गरिरहेको छ।

    ‘छानबिन समितिले प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदन अध्ययन गरिरहेका छौँ,’ उपकुलपति थापाले भने, ‘प्रतिवेदनअनुसार दोषीलाई त्रिवि र प्रचलित कानुनअनुसार कारबाही गर्छौं।’

    राराब क्याम्पसको घटना त्रिविभित्र देखिएको आर्थिक अनियमितताको एउटा उदाहरण मात्रै हुन सक्ने भन्दै विश्वविद्यालयले अन्य क्याम्पसमा पनि शुल्क संकलन र आर्थिक कारोबारको अवस्था खोतल्न थालेको छ। उपकुलपति थापाले आफ्नो नेतृत्वको टोली आएपछि विश्वविद्यालयभित्रका विभिन्न बेथिति र अनियमितताबारे जानकारी प्राप्त हुन थालेको बताए।

    ‘राराबमा मात्र होइन, अन्य ठाउँमा पनि खोजी गरिरहेका छौँ। हाम्रो एजेन्डा नै त्रिविमा सुशासन कायम गर्ने हो। बेथितिका फाइल खोल्न सुरु भएको छ,’ उनले भने।

    राराब क्याम्पसमा विद्यार्थीबाट उठाइएको शुल्कमा ठूलो आर्थिक अनियमितता भएको विषय सार्वजनिक भएपछि त्रिविको केन्द्रीय कार्यालयले छानबिन समिति गठन गरेको थियो। समितिले तयार पारेको प्रतिवेदनमा २० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको उल्लेख छ। प्रतिवेदनले दोषीमाथि कारबाही गर्न र अनियमित रूपमा गएको रकम फिर्ता गराउनसमेत सिफारिस गरेको छ।

    त्रिविका नियमले आर्थिक अनियमिततामा संलग्न कर्मचारीमाथि बर्खास्तीसम्मको कारबाही गर्न सक्ने व्यवस्था गरेको छ। त्यसैले अब उपकुलपति थापाको प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन हुन्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।

    यस प्रकरणलाई थप गम्भीर बनाउने अर्को पक्ष प्रमाण नष्ट गरिएको आरोप हो। घोटालासम्बन्धी विषय बाहिरिएपछि राराब क्याम्पसका कर्मचारी सञ्जय दासको नेतृत्वको टोलीले २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको थियो। उक्त आगजनीमा आर्थिक अनियमिततासँग सम्बन्धित धेरै प्रमाण नष्ट भएको बताइएको छ।

    विद्यार्थीले आफ्नो भविष्य निर्माणका लागि बुझाएको शुल्कमै यति ठूलो अनियमितता भएको विषयले विश्वविद्यालयको आर्थिक पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। अझ अनियमितता लुकाउन प्रमाण नष्ट गरिएको आरोपसमेत जोडिएपछि यो प्रकरण सामान्य आर्थिक अनुशासन उल्लंघनमा मात्र सीमित देखिँदैन।

    अब त्रिविसमक्ष दुईवटा महत्वपूर्ण चुनौती छन्, राराब क्याम्पसको घोटालामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनु र अन्य क्याम्पसमा पनि यस्ता अनियमितता भए–नभएको निष्पक्ष रूपमा छानबिन गर्नु।

    उपकुलपति थापाले बेथितिका फाइल खोल्न सुरु भएको बताइसकेका छन्। तर विश्वविद्यालयभित्र वर्षौंदेखि मौलाएका अनियमिततामाथि अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने र विद्यार्थीको रकम असुलउपर गर्ने कामले गति लिन्छ कि प्रतिबद्धता भाषणमै सीमित हुन्छ भन्ने कुरा आगामी कदमले स्पष्ट पार्नेछ।