धनगढीः कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा निर्धारण गरिएका ९० शैक्षिक सिट कटौती नगर्न विद्यार्थी संगठनले सरकारसँग माग गरेका छन्। विश्वविद्यालयको ऐन संशोधन गरी नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढाउने सरकारको तयारीप्रति ध्यानाकर्षण गराउँदै विद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेका सिट यथावत् राख्न माग गरेका हुन्।
अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समिति र अनेरास्ववियु सुदूरपश्चिम प्रदेश समितिले बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको उपलब्धि र सुदूरपश्चिमवासीको दशकौँदेखिको सपनामाथि खेलवाड नगर्न आग्रह गरेका छन्।
विद्यार्थी संगठनले २०८३ असोज ३० गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकबाट एमबीबीएससहित स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रमका लागि ९० सिट निर्धारण हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन्। उक्त निर्णयले सुदूरपश्चिमका विद्यार्थीलाई आफ्नै प्रदेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर सिर्जना गर्नुका साथै प्रदेशको स्वास्थ्य सेवा विकासमा समेत नयाँ आशा जगाएको उनीहरूको भनाइ छ।
चिकित्सा शिक्षा आयोगले गेटा विश्वविद्यालयमा चारवटा शैक्षिक कार्यक्रम सञ्चालनका लागि कुल ९० सिट निर्धारण गरेको छ। जसअनुसार एमबीबीएसमा ५०, बीएस्सी नर्सिङमा २०, मेडिकल ल्याबोरेटरी टेक्नोलोजीमा १० र अप्टोमेट्रीमा १० सिट रहेका छन्। विद्यार्थी संगठनले कुनै पनि बहानामा यी सिट कटौती वा खारेज गर्न नहुने माग गरेका छन्।
यसैबीच, सरकारले गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन गरी नयाँ पदाधिकारी नियुक्तिको बाटो खोल्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्रबहादुर खत्रीलगायत सहभागी थिए।
बैठकमा चिकित्सा शिक्षा सुधार र डा. गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनका विषयमा समेत छलफल भएको थियो। सरकार र डा. केसीबीच गत कात्तिक २१ गते भएको सहमतिमा गेटा विश्वविद्यालयको ऐनमा पदाधिकारीको योग्यता तथा नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गर्न अध्यादेश ल्याउने र त्यसपछि नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाउने उल्लेख छ।
तर, खुला प्रतिस्पर्धा र स्थापित विधिअनुसार नियुक्त भएका पदाधिकारीलाई विस्थापित गर्नुपर्ने आवश्यकता र औचित्य सरकारले स्पष्ट पार्नुपर्ने विद्यार्थी संगठनको माग छ। वर्तमान ऐनमा कुन प्रावधान कमजोर छ र त्यसले विश्वविद्यालयको शैक्षिक गुणस्तर तथा संस्थागत विकासमा कस्तो असर पारेको छ भन्ने विषयमा सरकारले ठोस कारण र तथ्य सार्वजनिक नगरेको उनीहरूको आरोप छ।
सरकारले ऐन संशोधन र नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढाउन खोजे पनि विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन अनुमति तथा सिट निर्धारणसम्बन्धी निर्णय प्रक्रियाको छानबिनलाई लिएर डा. गोविन्द केसीको असन्तुष्टि भने कायमै छ।
सरकारसँग भएको सहमतिअनुसार गेटा विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन अनुमति तथा सिट निर्धारण गर्दा निर्धारित मापदण्ड पालना भए/नभएको, निर्णय प्रक्रियामा स्वार्थको द्वन्द्व भए/नभएको र त्यसमा जिम्मेवार पदाधिकारीको जवाफदेहितासमेत छानबिन गर्नुपर्ने डा. केसीको भनाइ छ।
तर, शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिलाई सम्बन्धित संस्थाको स्थलगत अनुगमन गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्षम भए/नभएको मूल्याङ्कन गर्ने जिम्मेवारी मात्र दिइएको भन्दै उनले आपत्ति जनाएका छन्।
समिति गठन गर्न सरकारी पक्षले झन्डै तीन साता लगाएको तर कार्यावधि भने एक सातामात्र तोकेको भन्दै केसीले प्रश्न उठाएका छन्। सरकारले माग गरेअनुसार आफूहरूले सिफारिस गरेका चिकित्सा शिक्षा विज्ञलाई समितिमा समावेश नगरिएकोमा पनि उनको असन्तुष्टि छ।
केसीका अनुसार संस्थाको सञ्चालन क्षमता परीक्षण गर्नु र शैक्षिक कार्यक्रम सञ्चालन तथा सिट निर्धारण गर्ने निर्णय प्रक्रिया एवं त्यसमा मापदण्ड पालना भए/नभएको छानबिन गर्नु फरक विषय हुन्। स्थलगत अनुगमन छानबिनको एउटा माध्यम हुन सक्ने भए पनि त्यसलाई सहमतिमा तोकिएको मूल उद्देश्यको विकल्प बनाउन नमिल्ने उनको तर्क छ।
उनले सहमतिको बुँदा नम्बर १ अनुसार समितिको गठन र कार्यक्षेत्र तत्काल सच्याउन तथा छानबिनका सिफारिस कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। माग सम्बोधन नभए पुनः सत्याग्रहलगायत आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिएका छन्।
गेटा विश्वविद्यालयमा एकातिर ऐन संशोधन र नयाँ पदाधिकारी नियुक्तिको तयारी भइरहेको छ भने अर्कोतिर चिकित्सा शिक्षा आयोगले निर्धारण गरेका शैक्षिक सिटको संरक्षण र निर्णय प्रक्रियाको छानबिनको विषय पेचिलो बनेको छ। सरकार, विद्यार्थी संगठन र डा. केसीका फरक–फरक माग तथा धारणाले विश्वविद्यालयको संस्थागत संरचना र शैक्षिक कार्यक्रम सञ्चालनबारे अन्योल कायमै रहेको छ।

