काठमाडौं — उपभोक्ताबाट नियमित शुल्क असुल्ने तर प्रतिबद्धताअनुसारको सेवा दिन नसक्ने दूरसञ्चार सेवा प्रदायकमाथि सरकारले कडाइ गर्ने संकेत गरेको छ। अर्बौँ रुपैयाँ सरकारी बक्यौता बाँकी राख्ने, अनुमतिपत्रका सर्त उल्लंघन गर्ने र उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन नसक्ने प्रवृत्तिप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले असन्तुष्टि जनाउँदै नियामक निकायलाई कानुनी अधिकार प्रयोग गरेर कारबाही गर्न निर्देशन दिएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक अन्तरक्रियामा मन्त्री तिमिल्सिनाले दूरसञ्चार कम्पनीहरूले नाफालाई मात्रै प्राथमिकता दिएर उपभोक्ताको सेवा र कानुनी दायित्वलाई बेवास्ता गर्न नपाउने स्पष्ट पारे।
उनका अनुसार दूरसञ्चार सेवा अहिले नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको विषय हो। तर सेवा विस्तारमा केन्द्रित हुँदै आएको क्षेत्रले गुणस्तर सुधारमा अपेक्षित ध्यान दिन सकेको छैन। राजधानी काठमाडौंमै फोन सम्पर्क नियमित नहुने र उपभोक्ताले सम्झौताअनुसारको इन्टरनेट गति नपाउने अवस्था रहनु गम्भीर विषय भएको उनको भनाइ छ।
‘गुणस्तरीय सेवा विलासिता होइन, नागरिकको न्यूनतम आवश्यकता हो,’ मन्त्री तिमिल्सिनाको भनाइ थियो।
सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएर नागरिकलाई डिजिटल प्रणालीमा जोड्ने अभियान अघि बढाइरहेका बेला इन्टरनेट र दूरसञ्चार सेवाको गुणस्तर कमजोर हुनु त्यसको प्रमुख चुनौतीका रूपमा देखिएको छ। डिजिटल सेवा विस्तारको लक्ष्य हासिल गर्न भरपर्दो दूरसञ्चार पूर्वाधार र गुणस्तरीय सेवा अनिवार्य हुने मन्त्रीले बताए।
मन्त्री तिमिल्सिनाले सेवा प्रदायकलाई लागत घटाउने र नाफा बढाउने नाममा उपभोक्तालाई कमजोर सेवा दिन नपाइने चेतावनीसमेत दिए। अनुमतिपत्र लिँदा गरेका प्रतिबद्धता र सम्झौतामा उल्लेख गरिएका सर्त पालना गर्नु कम्पनीहरूको अनिवार्य दायित्व भएको उनले बताए।
उनले नियामक निकायको भूमिकामाथि पनि प्रश्न उठाउँदै निर्देशन र पत्राचारमा मात्रै सीमित नभई कानुन उल्लंघन गर्ने कम्पनीमाथि प्रभावकारी कारबाही गर्नुपर्नेमा जोड दिए। गल्ती गर्ने सेवा प्रदायकले त्यसको जिम्मेवारी लिनुपर्ने र कानुनअनुसार कारबाहीको भागीदार हुनुपर्ने उनको भनाइ थियो।
विशेषगरी सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँ बक्यौता नतिर्ने, अनुमतिपत्रको अवधि समाप्त हुँदासमेत सेवा तथा व्यवसाय विस्तार गर्ने र कानुनी दायित्व पूरा नगर्ने प्रवृत्तिप्रति उनले आपत्ति जनाए। कानुनी वा नीतिगत अस्पष्टता भए समयमै समाधान खोज्नुपर्ने भन्दै दायित्व पूरा नगरी पछि विभिन्न बहाना बनाउने प्रवृत्ति स्वीकार्य नहुने उनले स्पष्ट पारे।
सरकार कुनै एउटा दूरसञ्चार कम्पनीको पक्ष वा विपक्षमा नरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले स्वच्छ व्यावसायिक वातावरण र उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गरिने बताए। कम्पनीहरूले पहिले आफ्नो कानुनी तथा आर्थिक दायित्व पूरा गर्नुपर्ने र त्यसपछि नियामकले कमजोरी तथा कानुन उल्लंघनका घटनामा कारबाही गर्नुपर्ने उनको धारणा थियो।
त्यसैगरी, मन्त्रालयले नियामक निकायलाई कसलाई के कारबाही गर्ने भनेर निर्देशन दिनेभन्दा पनि प्राधिकरणले आफ्नो कानुनी अधिकारअनुसार स्वतन्त्र निर्णय गर्नुपर्ने उनले बताए। नियामक र सेवा प्रदायकबीच संवाद तथा समन्वय आवश्यक भए पनि त्यसको अर्थ कानुन उल्लंघनलाई संरक्षण गर्नु नभएको उनको भनाइ थियो।
दूरसञ्चार क्षेत्रलाई आम नागरिकले भ्रष्टाचार र अनियमितताको अखडाका रूपमा हेर्न थालेको उल्लेख गर्दै मन्त्रीले यस क्षेत्रको छवि सुधार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। इन्टरनेटको मूल्य वृद्धिबारे गलत सूचना फैलाउने र बजारमा अफवाह सिर्जना गरेर उपभोक्तालाई भ्रममा पार्ने गतिविधि पनि रोक्नुपर्ने उनको धारणा थियो।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले पनि अब निर्देशन र निर्णयमा मात्रै सीमित नभई परिणाम देखिने गरी काम गर्नुपर्ने बताए।
उनका अनुसार सेवा प्रदायकलाई पटकपटक निर्देशन दिँदा पनि सेवाको गुणस्तरमा अपेक्षित सुधार हुन सकेको छैन। त्यसैले अब समस्या पहिचान, समाधानका उपाय र सुधारको समयसीमा स्पष्ट हुने गरी नतिजामुखी कार्ययोजना आवश्यक छ।
प्राधिकरणले निर्देशन दिने र सेवा प्रदायकले कार्यान्वयन गर्ने प्रक्रिया मात्रै पर्याप्त नहुने भन्दै अध्यक्ष घिमिरेले त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउनुपर्नेमा जोड दिए। दूरसञ्चार सेवा चुस्त, गुणस्तरीय र भरपर्दो बनाउन प्राधिकरण आवश्यक समन्वय तथा सहजीकरण गर्न तयार रहेको उनले बताए।
दूरसञ्चार कम्पनीहरूले उपभोक्ताबाट शुल्क लिने तर गुणस्तरीय सेवा दिन नसक्ने अवस्था, सरकारलाई बुझाउनुपर्ने बक्यौता बाँकी राख्ने प्रवृत्ति र नियामकको निर्देशन कार्यान्वयनमा देखिएको कमजोरी अब सुधारको मुख्य विषय बनेको छ।
मन्त्रीको निर्देशनपछि अब प्राधिकरणले कति प्रभावकारी रूपमा नियमन गर्छ र सेवा प्रदायकले उपभोक्तालाई कस्तो सेवा दिन्छन् भन्ने विषय महत्वपूर्ण हुनेछ। अन्ततः भाषण र निर्देशनभन्दा पनि उपभोक्ताले निर्बाध फोन गर्न पाउने, सम्झौताअनुसार इन्टरनेट गति प्राप्त गर्ने र कानुनी दायित्व पूरा नगर्ने कम्पनीमाथि कारबाही हुने अवस्थाले नै दूरसञ्चार क्षेत्रको सुधार मापन गर्नेछ।