काठमाडौंः बाढीबाट प्रभावित युवाको शिक्षा, रोजगारी र भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले चैतन्य एकेडेमीले ७ सय युवालाई ८० लाख रुपैयाँ बराबरको निःशुल्क प्रतिस्पर्धात्मक परीक्षा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। २०८३ भदौ १० गतेको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका युवालाई लक्षित गरी एकेडेमीले विशेष शैक्षिक अभियान अघि सारेको हो।
‘विपद् प्रभावित युवाका लागि अवसर र भविष्य निर्माण’ अभियानअन्तर्गत ‘विपद्ले रोक्न सक्दैन, सपनाले हार मान्दैन’ भन्ने मूल सन्देशसहित सञ्चालन हुन लागेको कक्षा आगामी मङ्सिर २० गतेदेखि सुरु हुनेछ। बिहान र साँझको समयमा सञ्चालन हुने कक्षाले विपद्बाट प्रभावित युवाको क्षमता अभिवृद्धि, आत्मविश्वास विकास र भविष्य निर्माणमा सहयोग पुर्याउने एकेडेमीको अपेक्षा छ।
अभियानअन्तर्गत लोकसेवा आयोग, शिक्षक सेवा आयोग, सुरक्षा निकाय तथा बैंकिङ क्षेत्रका विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको तयारी निःशुल्क गराइनेछ। जसमा खरिदार, नायब सुब्बा, शाखा अधिकृत, शिक्षक सेवा आयोगको आधारभूत तह, सुरक्षा निकायको सहायक निरीक्षक (असई) तथा बैंकिङ सहायक तहका परीक्षाको तयारी कक्षा समावेश छन्। एकेडेमीले ७ सय विद्यार्थीलाई करिब ८० लाख रुपैयाँ बराबरको शैक्षिक सेवा निःशुल्क उपलब्ध गराउन लागेको जनाएको छ।
काठमाडौंको शंखमूलमा स्थापना भएको चैतन्य एकेडेमीले विगत १३ वर्षदेखि लोकसेवा आयोग तथा विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा सञ्चालन गर्दै आएको छ। सरकारी सेवामा प्रवेश गर्न चाहने युवालाई उचित मार्गनिर्देशन, विषयगत ज्ञान, प्रतिस्पर्धात्मक क्षमता र आत्मविश्वास प्रदान गर्ने उद्देश्यले स्थापित एकेडेमीबाट अध्ययन गरेका हजारौँ युवा विभिन्न सरकारी सेवा तथा सार्वजनिक संस्थानमा सिफारिस भइसकेका छन्।
चैतन्य ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश जोशीका अनुसार सरकारी सेवामा प्रवेश गर्न चाहने युवामा प्रतिभा र सम्भावना हुँदाहुँदै पनि उचित मार्गनिर्देशन, गुणस्तरीय शैक्षिक सामग्री र अवसरको अभावमा पछि पर्नुपर्ने अवस्था छ। यही आवश्यकता सम्बोधन गर्ने उद्देश्यले चैतन्य एकेडेमी स्थापना गरिएको उनले बताए।
विद्यार्थीलाई परीक्षामा सफल बनाउनु मात्र नभई देशका दक्ष जनशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्दै राष्ट्रसेवामा जोड्नु संस्थाको मुख्य उद्देश्य रहेको जोशीको भनाइ छ। सही मार्गनिर्देशन, निरन्तर अभ्यास र गुणस्तरीय प्रशिक्षणको अवसर पाए देशका जुनसुकै भूगोलमा रहेका प्रतिभाशाली युवाले पनि सफलता हासिल गर्न सक्ने उनको विश्वास छ।
उनका अनुसार लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ क्षेत्र, नर्सिङ सेवा तथा सुरक्षा निकायलगायत विभिन्न क्षेत्रमा चैतन्यबाट अध्ययन गरेका युवाहरू सफल हुँदै आएका छन्।
एकेडेमीले शैक्षिक सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो संस्थागत संस्कृतिका रूपमा विकास गर्दै आएको छ। आर्थिक तथा सामाजिक अवस्थाका कारण गुणस्तरीय शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीलाई छात्रवृत्ति तथा निःशुल्क अध्ययनको अवसर प्रदान गर्दै आएको चैतन्यले कोरोना महामारीपछि निःशुल्क शनिबारीय शृङ्खलालाई निरन्तरता दिँदै आएको छ। हालसम्म ३१७ वटा शनिबारीय निःशुल्क शृङ्खला सञ्चालन गरिसकेको एकेडेमीले देशभरका हजारौँ परीक्षार्थीलाई विज्ञ प्रशिक्षकमार्फत निःशुल्क प्रशिक्षण प्रदान गरेको जनाएको छ।
‘शिक्षा नाफा आर्जन गर्ने क्षेत्र मात्र होइन, समाजको क्षमता र चेतना निर्माण गर्ने माध्यम पनि हो। दक्ष जनशक्ति उत्पादन गर्नु राज्य, शैक्षिक संस्था र समाज सबैको साझा जिम्मेवारी हो,’ जोशीले भने, ‘यही सामाजिक उत्तरदायित्वबोधका साथ हामीले शनिबारीय निःशुल्क शृङ्खला सञ्चालन गर्दै आएका छौँ।’
देशका कुना-कन्दरामा रहेका विद्यार्थीले समेत घरमै बसेर विज्ञहरूबाट ज्ञान र मार्गनिर्देशन प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।
चैतन्यले लोकसेवा आयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षामा सफल भएका उम्मेदवारको सम्मानमा नियमित रूपमा बधाई तथा शुभकामना समारोहसमेत आयोजना गर्दै आएको छ। यस्ता समारोहमा लोकसेवा आयोगका पूर्वअध्यक्ष, पूर्वसचिव, वर्तमान तथा पूर्वउच्च प्रशासक र विषयविज्ञलाई सहभागी गराएर नवप्रवेशी राष्ट्रसेवकलाई सम्मान गर्नुका साथै अनुभव आदानप्रदान गराउने गरिएको छ। यस्ता कार्यक्रमले सफल उम्मेदवारको आत्मसम्मान र मनोबल बढाउनुका साथै भावी राष्ट्रसेवकमा सार्वजनिक सेवाप्रतिको जिम्मेवारी, नैतिकता, सदाचार र सेवाभाव विकास गर्न सहयोग पुर्याउने जोशीको भनाइ छ।
गुणस्तरीय प्रतिस्पर्धात्मक परीक्षाको तयारीलाई काठमाडौंमा मात्र सीमित नराख्ने उद्देश्यले चैतन्यले बुटवल र धनगढीमा समेत शाखा विस्तार गरिसकेको छ। देशका विभिन्न भूगोलमा रहेका युवाले आफ्नै क्षेत्रबाट गुणस्तरीय प्रशिक्षण प्राप्त गर्न सकून् भन्ने उद्देश्यले क्षेत्रीयस्तरमा सेवा विस्तार गरिएको जोशीले बताए।
प्रतिभा र क्षमता भूगोलले निर्धारण नगर्ने भए पनि अवसरको असमान वितरणले सम्भावनायुक्त धेरै युवालाई प्रतिस्पर्धाबाट बाहिर राख्न सक्ने उनको भनाइ छ। त्यसैले गुणस्तरीय शिक्षा र प्रशिक्षणको पहुँच देशका सबै क्षेत्रमा पुर्याउन आवश्यक रहेको उनले बताए।
बाढी प्रभावित युवाका लागि सञ्चालन गर्न लागिएको निःशुल्क तयारी कक्षालाई चैतन्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्त्वपूर्ण अभियानका रूपमा लिएको छ। लामो समयदेखि विपद् प्रभावित क्षेत्रका युवाको अवस्था र उनीहरूको भविष्य निर्माणमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सोचिरहेको उल्लेख गर्दै जोशीले राहत र पुनःस्थापनासँगै प्रभावित युवालाई भविष्यप्रति आशावादी बनाउने अवसर पनि आवश्यक रहेको बताए।
‘विपद्का कारण धेरै युवाको अध्ययन, रोजगारी र भविष्यका योजनामा असर परेको छ। उनीहरूलाई राहत र पुनःस्थापनासँगै भविष्यप्रति आशावादी बनाउने अवसर पनि आवश्यक छ। हामीले काम गरिरहेको शैक्षिक क्षेत्रबाट उनीहरूलाई सबैभन्दा प्रभावकारी रूपमा सहयोग गर्न सकिने माध्यम गुणस्तरीय निःशुल्क प्रतिस्पर्धात्मक प्रशिक्षण नै हो भन्ने निष्कर्षमा पुग्यौँ,’ उनले भने।
उनका अनुसार प्रभावित युवालाई निःशुल्क कक्षामा सहभागी गराउनु मात्र अभियानको उद्देश्य होइन। उनीहरूको आत्मविश्वास फर्काउने, क्षमता विकास गर्ने र जीवनमा नयाँ सम्भावनाका ढोका खोल्ने प्रयास पनि यससँग जोडिएको छ।
‘आज विपद्बाट प्रभावित भएका युवा भोलि राष्ट्रका जिम्मेवार प्रशासक, शिक्षक, सुरक्षाकर्मी तथा दक्ष जनशक्ति बन्न सकून् भन्ने हाम्रो अपेक्षा हो,’ जोशीले भने।
निजी क्षेत्रका शैक्षिक संस्था, व्यावसायिक प्रतिष्ठान र सामाजिक संघसंस्थाले आ–आफ्नो कार्यक्षेत्रबाट यस्ता रचनात्मक अभियान सञ्चालन गर्न सके विपद् प्रभावित समुदायको दीर्घकालीन पुनरुत्थानमा महत्त्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ।
चैतन्य एकेडेमीले यस अभियानलाई एउटा निःशुल्क शैक्षिक कार्यक्रमका रूपमा मात्र नभई अवसरको समानता, युवा सशक्तीकरण र राष्ट्र निर्माणसँग जोडिएको सामाजिक प्रतिबद्धताका रूपमा अघि बढाएको जनाएको छ। विपद्ले भत्काएका भौतिक संरचना पुनर्निर्माण गर्न सकिए पनि प्रभावित युवाका सपना र भविष्यलाई पुनःजोड्न अवसर, विश्वास र उचित मार्गनिर्देशन आवश्यक पर्ने भएकाले अभियानले उनीहरूलाई प्रतिस्पर्धात्मक क्षमतासहित भविष्य निर्माणको बाटोमा अघि बढ्न सहयोग पुग्ने एकेडेमीको अपेक्षा छ।
अवसर पाए हरेक युवा सफल हुन सक्छन् र सक्षम युवा नै समृद्ध राष्ट्रका आधार हुन् भन्ने विश्वासका साथ चैतन्यले ७ सय युवालाई ८० लाख रुपैयाँ बराबरको निःशुल्क तयारी कक्षा उपलब्ध गराउने अभियान अघि बढाएको हो।