धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानले प्रदेशलाई प्रदान गरेको अधिकार क्षेत्रभित्र रहेर हालसम्म ६३ वटा ऐन निर्माण गरिएको बताएका छन्। उनले प्रदेशका लागि आवश्यक अन्य कानुन निर्माणको प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिए।
संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले तीन तहका सरकारका ऐन, २०७७ को कार्यान्वयनका सन्दर्भमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन्। कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
मुख्यमन्त्री भट्टले प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयमा आवश्यक ऐन तथा कानुन निर्माण गर्दै आएको बताए। केही आवश्यक कानुन निर्माण हुन बाँकी रहेको उल्लेख गर्दै उनले ती कानुन निर्माणका लागि प्रदेश सरकारले आवश्यक प्रक्रिया अघि बढाएको जानकारी दिए।
प्रदेश सरकार स्थानीय तह र संघीय सरकारसँग समन्वय तथा सहकार्य गर्दै अघि बढिरहेको बताउँदै मुख्यमन्त्री भट्टले संविधानले व्यवस्था गरेको अधिकार क्षेत्रभित्र रहेर कानुन निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको बताए।
उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। तीनै तहका सरकारबीच आपसी समझदारी र सहकार्य कायम भएमा संघीयताको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने उनको भनाइ थियो।