भोटेकोशीका आयोजना उठाउन निजी क्षेत्र तयार, सरकारसँग माग्यो ५० वर्षे अनुमतिपत्र - Chaitanya News
  • 2026-11-25
  • 12:20:29
  • बुधबार,मंसिर १०, २०८३
  • भोटेकोशीका आयोजना उठाउन निजी क्षेत्र तयार, सरकारसँग माग्यो ५० वर्षे अनुमतिपत्र

    भोटेकोशीका आयोजना उठाउन निजी क्षेत्र तयार, सरकारसँग माग्यो ५० वर्षे अनुमतिपत्र

    काठमाडौँ — भोटेकोशी क्षेत्रमा आएको बाढीले जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएपछि निजी क्षेत्र पुनर्निर्माणमा जुट्न तयार देखिएको छ। तर पुनर्निर्माणका क्रममा देखिन सक्ने कानुनी, नीतिगत तथा प्रशासनिक जटिलता हटाउन सरकारले सहजीकरण गर्नुपर्ने माग निजी ऊर्जा उत्पादकहरूले अघि सारेका छन्।

    प्राकृतिक विपद्का कारण प्रभावित आयोजनालाई पुनः सञ्चालनमा ल्याउन सरकारले प्रत्यक्ष आर्थिक सहायता दिनुभन्दा पनि आवश्यक नीतिगत व्यवस्था मिलाइदिनुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीको भनाइ छ। निजी क्षेत्रले आयोजनाको शतप्रतिशत बीमा गराएकाले क्षतिको व्यवस्थापन र पुनर्निर्माणमा बीमाबाट सहयोग पुग्ने भए पनि सरकारी प्रक्रियागत सहजता उत्तिकै आवश्यक रहेको उनले बताए।

    डाँगीका अनुसार भोटेकोशी बाढीबाट प्रभावित १३ आयोजनामध्ये ९ वटा निजी क्षेत्रका छन्। ती आयोजनाको शतप्रतिशत बीमा गरिएको छ। त्यसैले निजी क्षेत्र पुनर्निर्माणबाट पछि हट्ने अवस्थामा नरहेको भन्दै उनले सरकारले आवश्यक नीतिगत वातावरण बनाइदिनुपर्नेमा जोड दिए।

    इप्पानले प्रभावित आयोजनाको पुनर्निर्माणका लागि आवश्यक सहुलियत, सुविधा तथा नीतिगत व्यवस्थासहितको विस्तृत प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइसकेको छ। उक्त प्रतिवेदनमा आर्थिक अनुदानभन्दा पुनर्निर्माणका क्रममा आवश्यक पर्ने प्रशासनिक तथा कानुनी सहजीकरणलाई प्राथमिकता दिइएको छ।

    ‘हामीले निजी क्षेत्रका आयोजनाको शतप्रतिशत बीमा गरेका छौँ। अब त्यहाँ पुनर्निर्माण गर्नुपर्छ। पुनर्निर्माण गर्दा जे–जस्ता अप्ठ्यारा हुन्छन्, त्यसमा सरकारले आर्थिक सहयोग गर्नुभन्दा पनि नीतिगत सहजीकरण गरिदिनुपर्छ। सरकारले आवश्यक सहजीकरण मात्रै गरिदिए हामी पुनर्निर्माणमा जान्छौँ,’ उनले भने।

    पुनर्निर्माणका लागि ५० वर्षे अनुमतिपत्रको माग:

    निजी क्षेत्रले पुनर्निर्माणका लागि अघि सारेको प्रमुख माग आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि ५० वर्ष कायम गर्नुपर्ने रहेको छ। विद्युत् ऐन, २०४९ अनुसार अनुमतिपत्रको अवधि ५० वर्ष हुने व्यवस्था कार्यान्वयन गर्न इप्पानले सरकारसँग माग गरेको डाँगीले बताए।

    प्राकृतिक विपद्का कारण निर्माणको अन्तिम चरणमा पुगेका तथा व्यावसायिक उत्पादन सुरु गर्ने तयारीमा रहेका आयोजनासमेत पुनः निर्माणमा जानुपर्ने अवस्था सिर्जना भएको छ। यस्तो अवस्थामा पुरानै समयसीमाभित्र आयोजना निर्माण र सञ्चालन गर्न कठिन हुने भएकाले अनुमतिपत्रको अवधि थप गर्नुपर्ने निजी क्षेत्रको तर्क छ।

    ‘हामीले अनुमति पत्रको अवधि विद्युत् ऐन, २०४९ अनुसार ५० वर्ष गरिदिनुपर्छ भनेका छौँ। किनभने निर्माण हुन तयार भएका, अन्तिम चरणमा पुगेका आयोजनासमेत अब पुनर्निर्माणमा जानुपर्ने अवस्था आएको छ,’ उनले भने।

    उनले लाङटाङ आयोजनाको उदाहरण दिँदै व्यावसायिक सञ्चालन सुरु गर्ने तयारी भइरहेका बेला विपद्का कारण पुनः निर्माणमा जानुपर्ने अवस्था आएको बताए। यसले आयोजना सम्पन्न गर्न थप समय र लगानी आवश्यक पर्ने भएकाले अनुमतिपत्रको अवधि थप गर्नु न्यायोचित हुने उनको भनाइ छ।

    सरकार पनि प्रभावित आयोजनाको पुनर्निर्माण आवश्यक रहेको विषयमा सकारात्मक देखिएको डाँगीले बताए । सुरुवाती समयमा विपद्ले पुर्‍याएको क्षतिका कारण ऊर्जा उत्पादकमा निराशा देखिए पनि अहिले पुनर्निर्माणप्रति उत्साह बढ्दै गएको उनले उल्लेख गरे।

    उनका अनुसार हजारौँ वर्षमा एकपटक हुन सक्ने प्रकृतिका विपद्लाई आधार बनाएर नेपालको जलविद्युत् सम्भावना उपयोग नगर्ने निष्कर्षमा पुग्नु उचित हुँदैन।

    ‘पाँच हजार वर्ष, १० हजार वर्षमा त्यस्ता इन्सिडेन्ट हुन्छन् भन्दैमा हामीले त्यो रिसोर्स प्रयोग नगर्ने भन्ने हुँदैन। त्यसैले हामी उत्साहित नै छौँ,’ उनले भने।

    विद्युत् व्यापारमा निजी क्षेत्रलाई पनि खुला अवसर दिनुपर्ने:

    भोटेकोशीका आयोजनाको पुनर्निर्माणसँगै निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने प्रक्रिया पनि सरकारले तीव्र बनाउनुपर्ने इप्पानको माग छ। सरकारले आशयपत्र (एलओआई) दिइसकेका कम्पनीमध्ये आवश्यक योग्यता पूरा गरेका कम्पनीलाई लामो समयसम्म प्रतीक्षा नगराई विद्युत् व्यापारको अनुमतिपत्र उपलब्ध गराउनुपर्ने डाँगीले बताए।

    उनका अनुसार विद्युत् व्यापारलाई सरकार–सरकार (जीटुजी) प्रक्रियामा मात्र सीमित नराखी व्यवसायी–व्यवसायी (बीटुबी) माध्यमबाट पनि विस्तार गर्न सकिन्छ। निजी क्षेत्रलाई व्यापारमा सहभागी गराउँदा दुई देशका कम्पनीबीच व्यावसायिक प्रतिस्पर्धा बढ्ने र विद्युत् व्यापार थप प्रभावकारी बन्ने उनको तर्क छ।

    ‘सरकार–सरकार काम गर्नुभन्दा बिजनेस–टु–बिजनेस काम गर्न सजिलो हुन्छ। किनभने एक रुपैयाँ फाइदा भयो भने भारतको कम्पनीले ५० प्रतिशत नाफा खान्छ, नेपालको कम्पनीले ५० प्रतिशत नाफा खान्छ। तर सरकार–सरकारबीच त्यस्तो हुँदैन,’ उनले भने।

    निजी क्षेत्रबीच विद्युत् व्यापार अघि बढ्दा नेपाल र भारतका व्यवसायीले आ–आफ्ना सरकारसँग आवश्यक नीतिगत सहजीकरणका लागि पहल गर्न सक्ने उनको भनाइ छ। यसले अन्तरदेशीय विद्युत् व्यापारलाई व्यावसायिक तथा प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्ने उनले बताए।

    एलओआई पाएका कम्पनीमध्ये आवश्यक योग्यता पूरा गर्न बाँकी रहेकालाई योग्यता पूरा गर्ने अवसर दिनुपर्ने र मापदण्ड पूरा गरिसकेका कम्पनीलाई भने दुई वर्षसम्म अनुमतिपत्रका लागि कुर्न लगाउनु उचित नहुने उनको भनाइ छ।

    ‘एलओआई दिइसकेपछि जो योग्य हुन बाँकी छ, उसलाई योग्य हुने अवसर दिनुपर्छ । तर जो योग्य भएर आउँछ, त्यसलाई दुई वर्षसम्म नकुराई लाइसेन्स दिँदै जानुपर्छ। त्यसो भयो भने निजी क्षेत्रले पनि पीपीए गर्न थाल्छ,’ उनले भने।

    निजी क्षेत्रको पीपीएलाई बैंकले विश्वास गर्ने वातावरण आवश्यक:

    निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिँदैमा मात्रै बजार विस्तार नहुने भन्दै डाँगीले निजी कम्पनीबीच हुने विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) लाई बैंक तथा वित्तीय संस्थाले समेत विश्वसनीय रूपमा स्वीकार गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।

    निजी कम्पनीबीच पीपीए हुन थालेपछि विद्युत् खरिद–बिक्रीको जिम्मेवारी सरकारी निकायमा मात्रै सीमित नरहने र निजी क्षेत्रले पनि बजार व्यवस्थापनमा भूमिका खेल्न सक्ने उनको भनाइ छ। यसले नेपाल विद्युत् प्राधिकरण तथा सरकारमाथि रहेको पीपीएको भार बाँड्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    तर निजी कम्पनीबीच सम्झौता हुँदैमा आयोजना निर्माणका लागि आवश्यक लगानी सुनिश्चित नहुने उनले स्पष्ट पारे। बैंक तथा वित्तीय संस्थाले त्यस्ता सम्झौतालाई ऋण लगानीको विश्वसनीय आधारका रूपमा स्वीकार गर्न सक्नुपर्ने उनको भनाइ छ।

    ‘निजी क्षेत्रमा पीपीए गरेपछि त्यसको पैसा तिर्ने ग्यारेन्टी पनि हुनुपर्छ। भोलि फाइनान्सियल क्लोजर त हुनुपर्‍यो । निजी क्षेत्रबीच पीपीए गर्‍यो, तर त्यो पीपीएलाई बैंकले पत्याएन भने लगानी त हुँदैन। त्यसैले त्यो खालको वातावरण पनि बनाउनुपर्छ,’ उनले भने।

    अहिले विद्युत् खरिद–बिक्री सम्झौताको मोडालिटीबारे विभिन्न अभ्यास तथा छलफल भइरहेको पनि डाँगीले जानकारी दिए। विद्युत् उत्पादन क्षमता बढ्दै गएको अवस्थामा उत्पादित विद्युत्को बजार सुनिश्चितता, खरिद–बिक्रीको प्रभावकारी प्रणाली र निजी क्षेत्रको सहभागिता विस्तार गर्नु आवश्यक रहेको उनको भनाइ छ।

    नेपालको जलविद्युत् क्षेत्रलाई थप प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउन पुनर्निर्माणदेखि विद्युत् व्यापारसम्मका विषयमा सरकारले नीतिगत स्पष्टता दिनुपर्ने इप्पानको निष्कर्ष छ। निजी क्षेत्र लगानी र पुनर्निर्माणका लागि तयार भए पनि त्यसका लागि आवश्यक कानुनी तथा प्रशासनिक अवरोध हटाउने जिम्मेवारी सरकारको रहेको अध्यक्ष डाँगीले बताएका छन्।