दुर्घटनाका घाइतेको उपचार सहज बनाउन सातै प्रदेशमा ट्रमा सेन्टर खोलिने छ : मन्त्री मेहता - Chaitanya News
  • 2026-11-25
  • 13:43:20
  • बुधबार,मंसिर १०, २०८३
  • दुर्घटनाका घाइतेको उपचार सहज बनाउन सातै प्रदेशमा ट्रमा सेन्टर खोलिने छ : मन्त्री मेहता

    दुर्घटनाका घाइतेको उपचार सहज बनाउन सातै प्रदेशमा ट्रमा सेन्टर खोलिने छ : मन्त्री मेहता

    काठमाडौँ– सडक दुर्घटना तथा विभिन्न विपद्मा परी घाइते हुने नागरिकलाई उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम गर्न सरकारले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने भएको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुर्घटनामा घाइते भएकाहरूलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले यस्तो नीति लिएको बताएकी हुन्।

    राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले आवश्यक उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित प्रदेशस्तरमा ट्रमा सेन्टर स्थापना गरिने जानकारी दिइन्।

    प्रादेशिक ट्रमा सेन्टर स्थापना भएपछि सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशमै सम्भव हुने र गम्भीर अवस्थाका बिरामीलाई उपयुक्त अस्पतालमा पठाउने रिफरल प्रणाली व्यवस्थित हुने उनको भनाइ छ।

    मन्त्री मेहताले दुर्घटनापछिको उपचारमा अस्पतालपूर्वको आकस्मिक सेवालाई प्रभावकारी बनाउन सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको पनि बताइन् । उनका अनुसार देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा उपलब्ध गराउन संघीय तथा सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा सञ्चालनमा राखिएको छ।

    एम्बुलेन्सलाई केवल बिरामी ओसारपसार गर्ने साधनका रूपमा नभई आकस्मिक उपचार सेवा प्रदान गर्न सक्ने साधनका रूपमा विकास गर्ने सरकारको नीति रहेको उनले स्पष्ट पारिन्।

    उनले ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नराखी शारीरिक पुनर्स्थापना तथा मनोसामाजिक परामर्श सेवालाई समेत संस्थागत गर्नुपर्नेमा जोड दिइन्। दुर्घटनापछि देखिन सक्ने शारीरिक अपांगता र मानसिक समस्यालाई सम्बोधन गर्न पुनर्स्थापना सेवाको विस्तार गर्ने सरकारको योजना रहेको उनले बताइन्।

    यसैगरी, राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणका लागि मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री मेहताले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृति र दरबन्दी व्यवस्थापनसम्बन्धी विषयलाई छिट्टै टुंगोमा पुर्‍याउने प्रतिबद्धता जनाइन्।

    विपद्, महामारी तथा सवारी दुर्घटनाका समयमा राष्ट्रिय ट्रमा सेन्टरले अग्रपङ्क्तिमा रहेर सेवा दिँदै आएको उल्लेख गर्दै उनले विशेषज्ञ उपचार सेवा स्वदेशमै विस्तार हुँदा उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटाउन सहयोग पुगेको बताइन्। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबीचको सहकार्य थप सुदृढ गर्दै ट्रमा उपचार सेवालाई प्रभावकारी बनाइने उनको भनाइ छ।