सरकारले आन्तरिक ऋण उठाउँदै, १० अर्बको विकास ऋणपत्र बिक्री हुने - Chaitanya News
  • 2026-11-25
  • 13:43:20
  • बुधबार,मंसिर १०, २०८३
  • सरकारले आन्तरिक ऋण उठाउँदै, १० अर्बको विकास ऋणपत्र बिक्री हुने

    सरकारले आन्तरिक ऋण उठाउँदै, १० अर्बको विकास ऋणपत्र बिक्री हुने

    काठमाडौँ– सरकारले आन्तरिक स्रोतबाट सार्वजनिक वित्त व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ जुटाउने भएको छ। यसका लागि सरकारले ६ वर्ष अवधिको विकास ऋणपत्र–२०८९ बिक्री गर्न लागेको हो।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोल प्रक्रियामार्फत उक्त ऋणपत्र निष्कासन गर्न लागेको जनाएको छ। ऋणपत्रको कुल निष्कासन रकम १० अर्ब रुपैयाँ तोकिएको छ भने यसको ब्याजदर प्रतिस्पर्धी बोलकबोलबाट निर्धारण हुनेछ।

    कार्यालयका अनुसार ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, व्यक्ति, फर्म, संस्था तथा कम्पनीले मंसिर ९ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्।

    कुल निष्कासन रकममध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलदाताका लागि र बाँकी १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलदाताका लागि छुट्याइएको छ। प्रतिस्पर्धी बोलदाताले खरिद गर्न चाहेको रकमसँगै ब्याजदर प्रस्ताव गर्नुपर्नेछ भने अप्रतिस्पर्धी बोलदाताले खरिद रकम मात्र उल्लेख गरे पुग्नेछ। अप्रतिस्पर्धी बोलदाताले प्रतिस्पर्धी बोलकबोलबाट निर्धारण भएको एकल ब्याजदरमा ऋणपत्र पाउनेछन्।

    ऋणपत्रको निष्कासन मिति मंसिर १० गते तोकिएको छ । यसको साँवा भुक्तानी २०८९ मंसिर १० गते हुनेछ । ब्याज भुक्तानी भने प्रत्येक ६ महिनामा गरिनेछ । प्राप्त ब्याजमा प्रचलित व्यवस्थाअनुसार आयकर लाग्नेछ।

    ऋणपत्र खरिदका लागि न्यूनतम पाँच लाख रुपैयाँ निर्धारण गरिएको छ। खरिद गर्न चाहेको रकम पाँच लाख रुपैयाँले निःशेष भाग जाने हुनुपर्नेछ। नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाहेकका बोलदाताले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशत बराबरको अनेस्ट मनीसमेत जम्मा गर्नुपर्नेछ।

    कार्यालयका अनुसार उक्त विकास ऋणपत्र धितो राखेर कर्जा लिन तथा दिन सकिनेछ। साथै, यसको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा डीओएमएसमार्फत गर्न सकिने व्यवस्था छ।

    विकास ऋणपत्र बिक्री गरेर सरकारले आन्तरिक बजारबाट आवश्यक वित्तीय स्रोत परिचालन गर्ने लक्ष्य राखेको छ।