धनगढीः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका किसानबाट हालसम्म १५ हजार ८५२ क्विन्टलभन्दा बढी धान खरिद गरेको छ। जिल्लाका ६ वटा खरिद उपकेन्द्रमार्फत मङ्सिर १ गतेदेखि सुरु गरिएको धान खरिद प्रक्रियाअन्तर्गत हालसम्म १५ हजार ८५२ दशमलव २७ क्विन्टल धान खरिद गरिएको हो।
कार्यालय प्रमुख दीपक थापाका अनुसार सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ निर्धारण गरेको छ। सोही मूल्यमा किसानबाट धान खरिद भइरहेको उनले बताए।
यस वर्ष कैलालीका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ। गत वर्ष ३५ हजार क्विन्टल खरिद कोटा रहेकामा यस वर्ष पाँच हजार क्विन्टल घटाइएको हो।
कम्पनीले जिल्लाका मोहनपुर, टीकापुर, सत्ती, गौरीगङ्गा, भजनी र जोशीपुर खरिद उपकेन्द्रबाट धान खरिद गरिरहेको छ।
कार्यालयको विवरणअनुसार हालसम्म मोहनपुर केन्द्रबाट तीन हजार ९७० दशमलव ३७ क्विन्टल, टीकापुरबाट दुई हजार ६७५ दशमलव ४६ क्विन्टल, सत्तीबाट तीन हजार ६६ दशमलव ३५ क्विन्टल, गौरीगङ्गाबाट एक हजार ६५२ दशमलव एक क्विन्टल, भजनीबाट दुई हजार ३९० दशमलव पाँच क्विन्टल र जोशीपुरबाट दुई हजार ९७ दशमलव ४९ क्विन्टल धान खरिद भएको छ।
सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान बिक्री गर्न पाउँदा किसानलाई राहत पुगेको छ। तर, गत वर्षको तुलनामा यस वर्ष खरिद कोटा घटाइएकाले सरकारी खरिद प्रणालीबाट लाभान्वित हुने किसानको सङ्ख्या र खरिद हुने धानको परिमाण प्रभावित हुन सक्ने देखिएको छ।
यसैबीच, सुदूरपश्चिम प्रदेशकै अर्को जिल्ला कञ्चनपुरमा भने धान खरिद कोटा बढाउने मागका कारण खरिद प्रक्रिया अघि बढ्न सकेको छैन। कञ्चनपुरमा यस वर्ष आठ हजार क्विन्टल मोटा धान खरिद गर्ने कोटा निर्धारण गरिएकामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको प्राथमिक खरिद समितिले २० हजार क्विन्टल खरिद गर्न माग गरेको छ।
कार्यालय प्रमुख थापाका अनुसार समितिको गत कात्तिक २० गतेको निर्णयअनुसार खरिद कोटा बढाउन केन्द्रमा पहल भइरहेको छ। कोटा थप गर्ने विषयमा निर्णय भएपछि कञ्चनपुरमा पनि धान खरिद प्रक्रिया अघि बढ्ने उनले बताए।