काठमाडौँ — नागरिक लगानी कोषको लगानी क्षेत्र फराकिलो बनाउँदै निजी इक्विटी, भेन्चर क्यापिटलदेखि पूर्वाधार, उत्पादनमूलक र आवास क्षेत्रमा समेत लगानी गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। बदलिँदो वित्तीय आवश्यकता र नयाँ लगानीका सम्भावनालाई सम्बोधन गर्ने उद्देश्यसहित सरकारले कोषको पुँजीसमेत १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव अघि सारेको हो।
नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषको परम्परागत लगानी क्षेत्रलाई विस्तार गरी आधुनिक वित्तीय उपकरण र नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउने गरी कानुनी व्यवस्था संशोधन गर्न खोजिएको बताए।
प्रस्तावित व्यवस्थाअनुसार अब नागरिक लगानी कोषले निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता क्षेत्रमा पनि लगानी गर्न सक्नेछ। यसले नयाँ व्यवसाय, उत्पादनमूलक उद्योग तथा उद्यमशीलतामा पुँजी परिचालनको सम्भावना विस्तार गर्ने सरकारको अपेक्षा देखिन्छ।
त्यस्तै, पूर्वाधार विकास, उत्पादनमूलक क्षेत्र र आवास क्षेत्रमा कोषको लगानी बढाउने प्रस्ताव पनि विधेयकमा समेटिएको छ। मध्यम वर्गको विस्तारलाई आर्थिक प्राथमिकतासँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, आधुनिक सेवा र आवास क्षेत्रमा लगानीको आवश्यकता रहेको अर्थमन्त्री वाग्लेले औँल्याए।
विधेयकले कोषको वित्तीय क्षमता बढाउने विषयलाई पनि प्राथमिकतामा राखेको छ। हाल ८ अर्ब रुपैयाँ रहेको कोषको पुँजी १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ। त्यस्तै, शेयर कित्ता ८ करोडबाट बढाएर १० करोड पुर्याउने र चुक्ता पुँजी ३ अर्बबाट वृद्धि गरी ६ अर्ब ८० करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ।
विधेयकमा कोषको लगानीसम्बन्धी परिभाषासमेत फराकिलो बनाइएको छ। डिबेन्चर, ऋणपत्र तथा धितोपत्रका परिभाषा परिमार्जन गर्नुका साथै मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र र अन्य वित्तीय उपकरणलाई पनि लगानीको दायरामा समेट्ने प्रस्ताव गरिएको छ।
लगानीको दायरा विस्तारसँगै संस्थागत संरचना र व्यवस्थापनलाई व्यवस्थित बनाउने विषय पनि विधेयकमा समेटिएको छ। सञ्चालक समिति तथा कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट पार्ने, संस्थागत सुशासन सुदृढ गर्ने, पारदर्शिता कायम गर्ने र जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्था अद्यावधिक गर्ने सरकारको योजना छ।
अर्थमन्त्री वाग्लेले पुरानो कानुनी संरचनाले अहिलेका नयाँ वित्तीय उपकरण र लगानीका सम्भावनालाई पर्याप्त रूपमा समेट्न नसकेको उल्लेख गर्दै समयअनुसार कोषलाई नयाँ क्षेत्रमा प्रवेश गराउन संशोधन आवश्यक भएको बताए।
उनका अनुसार प्रस्तावित संशोधनले नागरिक लगानी कोषको पुँजीगत क्षमता मात्र बढाउने नभई लगानीका क्षेत्र, वित्तीय उपकरण र संस्थागत कार्यक्षेत्रसमेत विस्तार गर्नेछ।
विधेयक पारित भएमा नागरिक लगानी कोष परम्परागत वित्तीय उपकरणमा सीमित नरही उद्यम, पूर्वाधार, उत्पादन र आवास क्षेत्रमा समेत पुँजी परिचालन गर्न सक्ने संस्थाका रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।