काठमाडौँ — सरकारी निकायमा सदाचार कायम गर्ने र भ्रष्टाचार नियन्त्रणका प्रयासलाई संस्थागत बनाउने उद्देश्यसहित आन्तरिक राजस्व विभागले सदाचार सम्पर्क व्यक्ति तोकेको छ। विभागले निर्देशक गणेशप्रसाद नेपाललाई सदाचार सम्पर्क व्यक्तिको जिम्मेवारी दिँदै अनुगमन, मूल्यांकन तथा सुशासन शाखालाई सदाचार सम्पर्क विन्दुका रूपमा निर्धारण गरेको हो।
विभागको बुधबारको निर्णयले राष्ट्रिय सदाचार नीति, २०८३ कार्यान्वयनको प्रक्रियालाई अघि बढाएको छ। मन्त्रिपरिषद्ले २०८३ असार १८ गते स्वीकृत गरेको उक्त नीतिमा संघ, प्रदेश र स्थानीय तहका प्रत्येक सरकारी निकायले भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवर्द्धनका लागि एउटा शाखालाई सम्पर्क विन्दु र सोही शाखाका एक कर्मचारीलाई सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरेको छ।
नयाँ व्यवस्थाअनुसार निर्देशक नेपालले विभागमा सदाचार प्रवर्द्धनदेखि भ्रष्टाचारसम्बन्धी जोखिम पहिचान र संस्थागत मूल्यांकनसम्मका पाँचवटा प्रमुख जिम्मेवारी सम्हाल्नेछन्।
उनको पहिलो जिम्मेवारी कर्मचारीलाई सत्यनिष्ठा र सदाचारसम्बन्धी विषयमा अभिमुखीकरण गर्नु तथा व्यवसायीलाई व्यावसायिक सदाचारका नियमबारे जानकारी गराउनु हुनेछ। साथै, विभागमा सदाचार प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन तथा समन्वय पनि उनले गर्नुपर्नेछ।
दोस्रो जिम्मेवारीका रूपमा सदाचार र भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित गतिविधि तथा त्यस क्रममा देखिएका समस्याको विवरण समेटेर प्रत्येक चार महिनामा प्रतिवेदन तयार गर्नुपर्नेछ। उक्त प्रतिवेदन महानिर्देशकसमक्ष पेस गर्नुका साथै विभागको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
तेस्रो जिम्मेवारी विभाग र मातहतका कार्यालयमा सदाचारसम्बन्धी जोखिम पहिचान गर्नु हो। कुनै जोखिम वा समस्या देखिए महानिर्देशकलाई जानकारी गराउनुपर्नेछ। त्यसलाई चौमासिक प्रतिवेदनमा समावेश गरी राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत अनिवार्य रूपमा पठाउनुपर्नेछ।
त्यस्तै, चौथो जिम्मेवारीअन्तर्गत विभागका कर्मचारीबाट सदाचारसम्बन्धी विषयमा प्राप्त हुने गुनासोको सुनुवाइ तथा सम्बोधन प्रक्रियामा सहजीकरण गर्नुपर्नेछ। कार्यालयभित्र देखिने अनियमितता र सदाचारसम्बन्धी समस्याको सम्बोधनमा यो व्यवस्थाले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
पाँचौँ जिम्मेवारीका रूपमा संस्थागत सदाचार सूचकांक (इन्स्टिच्युसनल इन्टेग्रिटी इन्डेक्स) विकास गर्नुपर्नेछ। उक्त सूचकांकका आधारमा विभाग र मातहतका कार्यालयको सदाचारको अवस्था मूल्यांकन गर्ने प्रक्रिया पनि नेपालले संयोजन गर्नुपर्नेछ।
सरकारी कार्यालयमा सदाचार प्रवर्द्धन, भ्रष्टाचारका जोखिमको पहिचान र जवाफदेहिता अभिवृद्धि गर्ने राष्ट्रिय सदाचार नीतिको व्यवस्थाअनुसार विभागले यो संरचना तयार गरेको हो। अब विभागको कार्यसम्पादनसँगै कर्मचारीको आचरण, संस्थागत पारदर्शिता र सुशासनको अवस्थालाई समेत नियमित मूल्यांकन गर्ने आधार तयार हुने देखिएको छ।