काँग्रेसको नयाँ विधान र पदाधिकारीलाई निर्वाचन आयोगको मान्यता, विवरण अद्यावधिक - Chaitanya News
  • 2026-11-25
  • 15:39:43
  • बुधबार,मंसिर १०, २०८३
  • काँग्रेसको नयाँ विधान र पदाधिकारीलाई निर्वाचन आयोगको मान्यता, विवरण अद्यावधिक

    काँग्रेसको नयाँ विधान र पदाधिकारीलाई निर्वाचन आयोगको मान्यता, विवरण अद्यावधिक

    काठमाडौँ — नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट पारित विधान र निर्वाचित नयाँ पदाधिकारीको विवरण निर्वाचन आयोगले अद्यावधिक गरेको छ। महाधिवेशन सम्पन्न भएको लामो समयपछि आयोगले पार्टीको नयाँ विवरण अभिलेखमा समेटेको हो।

    निर्वाचन आयोगको बुधबार बसेको बैठकले नेपाली काँग्रेसको विधान तथा नयाँ पदाधिकारीसम्बन्धी विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिएका छन्।

    नेपाली काँग्रेसले गत असोज १९ देखि २३ गतेसम्म काठमाडौँको खुलामञ्चमा १५औँ महाधिवेशन सम्पन्न गरेको थियो। महाधिवेशनबाट पारित विधान र नयाँ नेतृत्वको विवरण अद्यावधिक गराउन पार्टीले आयोगमा विवरण पेस गरेको थियो।

    तर महाधिवेशन सम्पन्न भएलगत्तै विवरण अद्यावधिक हुन नसकेपछि आयोगको प्रक्रियामाथि विभिन्न प्रश्न उठ्दै आएका थिए। पार्टीको नयाँ नेतृत्व र विधानसम्बन्धी विवरण अद्यावधिक गर्न भएको ढिलाइले राजनीतिक वृत्तमा समेत चासो बढाएको थियो।

    आयोगको पछिल्लो निर्णयसँगै काँग्रेसको १५औँ महाधिवेशनबाट प्राप्त विधान र नयाँ पदाधिकारीको विवरण औपचारिक रूपमा आयोगको अभिलेखमा अद्यावधिक भएको छ।