‘पाइपलाइनबाट ग्यास वितरण गर्ने नीति तत्काल बनाउनुपर्छ’ : सुनिता डंगोल - Chaitanya News
  • 2026-11-26
  • 13:40:19
  • बिहिबार,मंसिर ११, २०८३
  • ‘पाइपलाइनबाट ग्यास वितरण गर्ने नीति तत्काल बनाउनुपर्छ’ : सुनिता डंगोल

    ‘पाइपलाइनबाट ग्यास वितरण गर्ने नीति तत्काल बनाउनुपर्छ’ : सुनिता डंगोल

    काठमाडौं — फोहोरबाट बायोग्यास उत्पादन गर्ने योजना अघि बढे पनि उत्पादित ग्यास उपभोक्तासम्म कसरी पुर्‍याउने भन्ने विषयमा नीतिगत स्पष्टता नहुँदा समस्या देखिएको छ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यासलाई पाइपलाइनमार्फत घरघरमा वितरण गर्न सरकारले तत्काल आवश्यक नीति बनाउनुपर्ने माग गरेकी छन्।

    टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा बिहीबार बोल्दै डंगोलले ग्यास उत्पादन गर्ने संरचना तयार पारेर मात्रै उद्देश्य पूरा नहुने बताइन्। उत्पादित ग्यासको सुरक्षित र व्यवस्थित वितरणका लागि सिलिण्डर तथा पाइपलाइन दुवै प्रणाली सञ्चालन गर्न सकिने गरी नीतिगत व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।

    उनका अनुसार अहिले बायोग्यास उत्पादनपछि त्यसलाई उपभोक्तासम्म पुर्‍याउने विषयमा स्पष्ट नीतिको अभाव छ। विशेषगरी पाइपलाइनमार्फत ग्यास वितरण गर्ने कानुनी तथा नीतिगत आधार नबन्दा प्लान्ट सञ्चालनको दिगोपनमै चुनौती आउन सक्ने उनले बताइन्।

    ‘बायोग्यास प्लान्ट सञ्चालन गरिसकेपछि त्यसबाट आउने उत्पादन वितरण कसरी गर्ने भन्ने नीति आजसम्म रहेनछ। पाइपलाइन वितरणका पक्षलाई पनि जति सक्दो छिटो नीति बनाएर स्पष्टता दिनुपर्छ,’ उनले सरकारलाई आग्रह गरिन्।

    डंगोलले लामो समयदेखि प्राविधिक समस्याका कारण बन्द रहेको टेकुको प्लान्ट पुनः सञ्चालनमा ल्याइएको उल्लेख गर्दै अब त्यसबाट नियमित उत्पादन र प्रभावकारी वितरण सुनिश्चित गर्नु महानगरको प्राथमिकता रहेको बताइन्।

    प्लान्ट निर्माण र उद्घाटनमा मात्रै सीमित नभई त्यसको दीर्घकालीन सञ्चालन कसरी गर्ने भन्ने विषयमा महानगरले निजी क्षेत्र तथा प्राविधिक समूहसँग छलफल गरिरहेको उनले जानकारी दिइन्। ग्यास वितरणमा देखिन सक्ने प्राविधिक, व्यवस्थापकीय र नीतिगत चुनौतीको समेत विश्लेषण भइरहेको उनको भनाइ छ।

    यसका साथै महानगरले टेकुमा निर्माण गरिरहेको फोहोर स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेसन) तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। केही उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले निर्माणमा केही ढिलाइ हुन सक्ने डंगोलले बताइन्।

    ट्रान्सफर स्टेसन सञ्चालनमा आएपछि जैविक र अजैविक फोहोर छुट्याउने तथा पुनः प्रयोग गर्न सकिने सामग्रीको व्यवस्थापनलाई थप व्यवस्थित बनाउने महानगरको योजना छ।

    डंगोलले फोहोर व्यवस्थापनलाई केवल संकलन र विसर्जनको विषयका रूपमा नहेरी ऊर्जा उत्पादन तथा आर्थिक आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिइन्।

    त्यसका लागि सरकारले रिफ्युज डिराइभ्ड फ्युल (आरडीएफ) सम्बन्धी नीति बनाउनुपर्ने उनको माग छ। प्रशोधन गरिएको फोहोरलाई सिमेन्ट उद्योगमा कोइलाको विकल्पका रूपमा प्रयोग गर्न सकिने भन्दै उनले त्यसका लागि आवश्यक नीतिगत आधार तयार गर्न सरकारसँग आग्रह गरिन्।

    फोहोरबाट इन्धन उत्पादन र बायोग्यास वितरणको सम्भावना हुँदाहुँदै पनि नीतिगत अस्पष्टताका कारण यस्ता योजना प्रभावकारी रूपमा अघि बढ्न नसकेको उनको भनाइ छ।

    काठमाडौं महानगरले टेकुको बायोग्यास प्लान्ट पुनः सञ्चालन, फोहोर स्थानान्तरण केन्द्र निर्माण र प्रशोधित फोहोरलाई इन्धनका रूपमा प्रयोग गर्ने अवधारणालाई अघि सारेको छ। तर यी योजनाबाट अपेक्षित परिणाम प्राप्त गर्न उत्पादनसँगै वितरण, बजार व्यवस्थापन र निजी क्षेत्रको सहभागितासम्बन्धी स्पष्ट नीति आवश्यक देखिएको छ।

    महानगरको जोड अब फोहोर व्यवस्थापनलाई खर्चिलो दायित्वबाट ऊर्जा उत्पादन र आर्थिक अवसरमा रूपान्तरण गर्ने रहेको छ। त्यसका लागि संघीय सरकारले नीतिगत अवरोध हटाएर स्थानीय तहलाई आवश्यक कानुनी आधार उपलब्ध गराउनुपर्ने डंगोलको माग छ।