धनगढीः धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका नागरिकलाई सहज सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरेका ६ वटा विद्युतीय गाडी कार्यालयमा आइपुगेका छन्। उपमहानगरपालिकाले बोलपत्र प्रक्रियामार्फत खरिद गरेका गाडी बिहीबार कार्यालयमा आइपुगेका हुन्।
उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार ग्रामीण क्षेत्रका वडालाई सहरी क्षेत्रसँग जोड्ने र नागरिकको आवागमन सहज बनाउने उद्देश्यले यी गाडी सञ्चालन गर्न लागिएको हो। गाडी सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका विद्यार्थी, रोजगारीका लागि दैनिक ओहोरदोहोर गर्ने नागरिक तथा स्थानीय उत्पादन बजारसम्म पुर्याउने किसानलाई सहज हुने उपमहानगरपालिकाको अपेक्षा छ।
उपमहानगरपालिकाले नयाँ गाडीमार्फत तीनवटा रुटमा यातायात सेवा सञ्चालन गर्ने तयारी गरेको छ। प्रस्तावित रुटअनुसार पहिलो सेवा वनवेहडा हुँदै वडा नम्बर १७, देवरिया भएर धनगढीसम्म सञ्चालन हुनेछ। दोस्रो सेवा चौमालाबाट वडा नम्बर १६, वडा नम्बर १५ र कनरी हुँदै धनगढी पुग्नेछ। त्यस्तै, तेस्रो सेवा धनगढीको वडा नम्बर १२ स्थित जुगेडाबाट वडा नम्बर १०, ९ र ८ हुँदै धनगढीसम्म सञ्चालन गरिनेछ।
यी रुटमा सार्वजनिक यातायात सञ्चालन भएपछि ग्रामीण क्षेत्रका बासिन्दालाई बजार, शैक्षिक संस्था तथा रोजगारीका अवसरसम्म पुग्न सहज हुने विश्वास उपमहानगरपालिकाले लिएको छ। साथै, स्थानीय कृषि तथा अन्य उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघि पनि धनगढी उपमहानगरपालिकाले नगर बस सेवा विस्तार गर्ने उद्देश्यले ६ वटा बस खरिद गरी फूलबारीदेखि अत्तरियासम्म सार्वजनिक यातायात सेवा सञ्चालन गरिरहेको छ। सहरी क्षेत्रसँगै ग्रामीण बस्तीलाई पनि सार्वजनिक यातायातको पहुँचमा जोड्ने योजनाअनुसार थप ६ वटा विद्युतीय गाडी ल्याइएको हो।
उक्त विद्युतीय गाडी सञ्चालन गर्न ठेक्कामा दिन उपमहानगरपालिका बोलपत्र अह्वानसमेत गरेको छ। सार्वजनिक सूचनामा हरेक रुटमा दुई विद्युतीय गाडी सञ्चालन गर्ने र प्रति गाडी बडाबड अंक तीस हजार रुपैयाँ उल्लेख छ।
उपमहानगरपालिकाले नयाँ गाडीमार्फत सञ्चालन हुने सेवाले ग्रामीण क्षेत्रको सार्वजनिक यातायातलाई व्यवस्थित र प्रभावकारी बनाउनुका साथै नागरिकको दैनिक आवागमन सहज बनाउने विश्वास व्यक्त गरेको छ।