काठमाडौँ — नेपाली काँग्रेसभित्र संस्थापन र असन्तुष्ट पक्षबीचको विवाद चर्किरहेका बेला संस्थापन पक्षले पार्टी विभाजनको बाटो छाडेर एकताबद्ध हुन पूर्वसभापति शेरबहादुर देउवा समूहलाई आग्रह गरेको छ । शीर्ष नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार रहेको जनाउँदै संस्थापन पक्षले पार्टीको वर्तमान नेतृत्व भने परिवर्तन गर्न नसकिने स्पष्ट पारेको छ ।
निर्वाचन आयोगले १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति र संशोधित विधान अद्यावधिक गरेपछि संस्थापन पक्षका नेताहरूले असन्तुष्ट समूहलाई पार्टीभित्रै रहेर मतभेद समाधान गर्न आह्वान गरेका हुन् । यता देउवा समूहले भने मङ्सिर २१ गतेदेखि समानान्तर महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।
संस्थापन पक्षका महामन्त्री प्रदीप पौडेलले पूर्वसभापति देउवालगायत शीर्ष नेताहरूलाई सम्मानजनक भूमिका दिन सकिने तर गगन थापालाई हटाएर देउवालाई सभापति बनाउन नसकिने बताएका छन् ।
धादिङ पुगेका पौडेलले पार्टी एकताका लागि आफूहरू लचिलो रहेको उल्लेख गर्दै भने, ‘एकताका लागि गगन थापालाई हटाएर शेरबहादुर देउवालाई सभापति बनाउन सकिँदैन। त्यो बाहेक के उपाय छ ? त्यो लागू गर्न तयार छौँ। शेरबहादुर दाइलाई सम्मान पुग्ने अभिभावकीय पद दिन तयार छौँ।’
अन्य शीर्ष नेताहरूलाई पनि सभापतिभन्दा तल र आफूहरूभन्दा माथिको हैसियतमा व्यवस्थापन गर्न सकिने उनको भनाइ छ । पार्टी नेतृत्वमा प्रतिस्पर्धा गर्न चाहने नेताहरूले महाधिवेशनमै आएर प्रतिस्पर्धा गर्नुपर्ने भन्दै उनले वैधानिकताको प्रश्न उठाएर पार्टीबाहिर बस्नुभन्दा आन्तरिक प्रक्रियाबाटै विवाद समाधान गर्नुपर्ने बताए ।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पाँच पटक आफ्नो पक्षमा निर्णय गरिसकेको दाबी गर्दै पौडेलले अदालतबाट छैटौँ पटक फरक निर्णय आए पनि त्यसलाई स्वीकार गर्ने बताए । एउटै पार्टीमा दुई सभापति र दुई जिल्ला समिति हुन नसक्ने तर्क गर्दै उनले सरकार नै काँग्रेसलाई दुई वटा पार्टी बनाउन लागिपरेको आरोपसमेत लगाए ।
यसैबीच काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पनि असन्तुष्टि र विगतका कमजोरीको समीक्षा पार्टीभित्रै गरेर एकताबद्ध हुन आग्रह गरेका छन् । प्रतिक्रियामाथि प्रतिक्रिया जनाउँदै अघि बढ्नुभन्दा विधि, विधान, पद्धति र परिस्थितिलाई केन्द्रमा राखेर पार्टीको मूल बाटोमा फर्कनुपर्ने उनको भनाइ छ ।
शर्माले सामाजिक सञ्जालमार्फत सबैलाई एकताबद्ध हुन आग्रह गर्दै भनेका छन्, ‘प्रतिक्रियापछि प्रतिक्रिया र फेरि पनि प्रतिक्रिया मात्रैले कहीँ पुगिन्न मूल प्रश्न विधि, विधान, पद्धति, प्रवृत्ति, प्रक्रिया, परिस्थिति, मनस्थिति र समयको हो अतः सबैमा नम्र आग्रह छ, आउनोस्, अब कोही नअल्मलिउँ, सबै जुटौँ मूल बाटोमा।’
पार्टीभित्र कसको के कमजोरी भयो भन्ने विषयको गम्भीर समीक्षा घरभित्रै गर्नुपर्ने र आपसी मनमुटाव अन्त्य गर्नुपर्ने उनको धारणा छ । ‘हामी जसको जे कमजोरी भयो, त्यसको गम्भीर समीक्षा घरभित्रै गरौँ मन माझौँ घरभित्रै, मन जोडौँ घरभित्रै आखिर हामी सबै जान्दछौँ प्रश्न यहाँ काँग्रेसको होइन, प्रश्न देशको छ,’ शर्माले भनेका छन् ।
महामन्त्री डा. डिला संग्रौलाले पनि निर्वाचन आयोगबाट १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र संशोधित विधान अद्यावधिक भएसँगै पार्टीले पूर्ण वैधानिकता प्राप्त गरेको बताएकी छन् ।
उनले विगतका तिक्तता र मतभेद बिर्सेर पार्टीको मूल प्रवाहमा फर्कन तथा संगठन सुदृढीकरणमा एकजुट हुन असन्तुष्ट पक्षका नेताकार्यकर्तालाई आह्वान गरेकी छन् ।
संस्थापन पक्षले एकताका लागि सम्मानजनक व्यवस्थापनको प्रस्ताव अघि सारे पनि देउवा समूहले समानान्तर महाधिवेशनको तयारी जारी राखेको छ । यस्तो अवस्थामा दुवै पक्षबीच सहमति जुट्छ वा पार्टीभित्रको विवाद थप लम्बिन्छ भन्ने विषय काँग्रेसको आगामी राजनीतिक यात्राका लागि महत्वपूर्ण बनेको छ ।