मेडिकल काउन्सिलको प्रमाणपत्र लिन अब कर चुक्ताको प्रमाण देखाउनुपर्ने - Chaitanya News
  • 2026-11-26
  • 15:37:16
  • बिहिबार,मंसिर ११, २०८३
  • मेडिकल काउन्सिलको प्रमाणपत्र लिन अब कर चुक्ताको प्रमाण देखाउनुपर्ने

    मेडिकल काउन्सिलको प्रमाणपत्र लिन अब कर चुक्ताको प्रमाण देखाउनुपर्ने

    काठमाडौँ– चिकित्सकले नेपाल मेडिकल काउन्सिलबाट विभिन्न प्रकारका प्रमाणपत्र लिन अब आफ्नो करसम्बन्धी विवरण पनि अनिवार्य रूपमा पेस गर्नुपर्ने भएको छ। काउन्सिलले प्रमाणपत्र प्राप्तिका लागि स्थायी लेखा नम्बर (प्यान) र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र अनिवार्य गरेसँगै चिकित्सकका लागि नयाँ व्यवस्था लागू हुने भएको हो। यो नियम आगामी मङ्सिर १५ गतेदेखि कार्यान्वयनमा आउनेछ।

    काउन्सिलबाट जारी हुने दर्ता प्रमाणपत्र, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन चाहने चिकित्सकले अब सम्बन्धित आवेदनसँगै थप कागजात बुझाउनुपर्नेछ। यसअघि प्रमाणपत्र प्राप्तिका लागि आवश्यक अन्य कागजात मात्र पेस गर्दै आएका चिकित्सकले अब कर चुक्ताको प्रमाणसमेत देखाउनुपर्ने व्यवस्था गरिएको छ।

    आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ३९१ मा उल्लेखित व्यवस्था कार्यान्वयन गर्न विभिन्न समयमा गरेको पत्राचारका आधारमा काउन्सिलले यस्तो निर्णय गरेको जनाएको छ।

    काउन्सिलको २०८३ असोज १ गते बसेको पूर्ण बैठकले प्रमाणपत्र जारी गर्ने प्रक्रियामा करसम्बन्धी कागजात अनिवार्य गर्ने निर्णय गरेको हो।

    नयाँ व्यवस्थाले विशेषगरी गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन चाहने चिकित्सकका लागि थप प्रक्रिया निर्धारण गरेको छ। अब त्यस्तो प्रमाणपत्रका लागि आवेदन दिने चिकित्सकले आफू हाल कार्यरत संस्थाबाट रोजगारी खुल्ने पत्रसमेत पेस गर्नुपर्नेछ।

    विदेशमा कार्यरत चिकित्सकले भने आफू कार्यरत देशको मेडिकल काउन्सिल वा सम्बन्धित नियमनकारी निकायबाट जारी भएको गुड स्ट्यान्डिङ प्रमाणपत्र बुझाउनुपर्नेछ। त्यस्तै, सम्बन्धित अवधिमा कुनै पनि रोजगारीमा संलग्न नरहेका चिकित्सकले आफू रोजगारीमा नरहेको विषय स्पष्ट खुलाएर निवेदन दिनुपर्नेछ।

    काउन्सिलले कागजात र विवरणको सत्यतामाथि पनि कडाइ गर्ने जनाएको छ। आवेदनका क्रममा गलत विवरण दिएको, नक्कली वा झुटा कागजात पेस गरेको अथवा रोजगारीमा नरहेको भनी गलत जानकारी दिएको पुष्टि भएमा सम्बन्धित चिकित्सकमाथि प्रचलित कानुन र नियमावलीअनुसार कारबाही हुनेछ।

    त्यति मात्र होइन, गलत विवरणका आधारमा प्रमाणपत्र लिएको पाइएमा भविष्यमा गुड स्ट्यान्डिङ प्रमाणपत्र जारी गर्नसमेत रोक लगाउन सकिने काउन्सिलको व्यवस्था छ।

    मङ्सिर १५ देखि लागू हुने यो निर्णयसँगै मेडिकल काउन्सिलबाट सेवा लिन चाहने चिकित्सकले आवेदन दिनुअघि आफ्नो प्यान, कर चुक्ताको अवस्था र आवश्यक रोजगारीसम्बन्धी कागजात तयार गर्नुपर्ने भएको छ।