काठमाडौं– २३ वर्षीया निरुता जिटीले १०औँ राष्ट्रिय खेलकुदमार्फत क्रिकेट अम्पायरका रूपमा आफ्नो यात्रा सुरु गरेकी छन्। खेलाडीका रूपमा क्रिकेटमा प्रवेश गरेकी निरुताले अब अम्पायरको भूमिकामा नयाँ जिम्मेवारी सम्हालेकी हुन्।
बिहीबार भएको १०औँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा लुम्बिनी र मधेश प्रदेशबीचको खेलबाट उनले अम्पायरिङमा डेब्यु गरेकी हुन्।
निरुतालाई आईसीसी अम्पायर सञ्जय गुरुङले डेब्यु क्याप प्रदान गरेका थिए। उक्त खेलमा अर्को एन्डबाट सुशीलकुमार यादवले अम्पायरका रूपमा साथ दिएका थिए।
स्याङ्जाकी निरुताले यसअघि गण्डकी प्रदेशबाट घरेलु क्रिकेट खेलेकी थिइन्। खेलाडीका रूपमा क्रिकेटमा जोडिएकी उनी सानै उमेरमा अम्पायरिङ क्षेत्रमा प्रवेश गरेकी हुन्।
यसैबीच, नेपाली राष्ट्रिय क्रिकेटमा पहिलोपटक दुई महिला अम्पायरले एकै खेलमा अनफिल्ड अम्पायरको जिम्मेवारी निर्वाह गरेका छन्। गण्डकी र बागमती प्रदेशबीच भएको खेलमा गौरी बोहरा र नितु थापाले अनफिल्ड अम्पायरका रूपमा भूमिका निर्वाह गरेका थिए।
यसले नेपाली क्रिकेटको अम्पायरिङ क्षेत्रमा महिलाको सहभागितालाई थप अघि बढाएको छ।