काठमाडौं– देशमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले आज अधिकांश स्थानको मौसम मुख्यतया सफा रहने भएको छ। तर केही हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ।
आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैबीच, काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ।
आज राति पनि केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली कायम रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार शनिबार बिहान काठमाडौं उपत्यका, खोँच तथा तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।