काठमाडौँ– बैंक तथा वित्तीय संस्थामा निक्षेपको आकार बढ्दै गए पनि कर्जा प्रवाहले गति लिन नसक्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम जारी छ। पर्याप्त तरलता रहे पनि कर्जाको माग कमजोर भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ।
केन्द्रीय बैंकले दुई महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो। यसका लागि शुक्रबार बोलकबोल प्रक्रिया सञ्चालन गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंसिर ११ गते जारी गरेको सूचनाअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोल पेस गर्न सक्नेछन्। उक्त निक्षेप संकलनको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ।
राष्ट्र बैंकले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ४० अर्ब रुपैयाँसम्म बोल गर्न सकिने व्यवस्था गरेको छ। बोल रकम १० करोड रुपैयाँले भाग जाने गरी प्रस्ताव गर्नुपर्नेछ। सहभागी संस्थाले एउटै वा फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोलसमेत पेस गर्न सक्नेछन्।
संकलित रकमको साँवा तथा ब्याज आगामी माघ १३ गते भुक्तानी गरिनेछ। यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।
बैंकिङ प्रणालीमा तरलता बढिरहेको अवस्थालाई पछिल्लो तथ्यांकले पनि देखाउँछ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । तर, सोही अवधिमा कर्जा प्रवाह भने ६१ खर्ब १८ अर्ब रुपैयाँमा सीमित छ।
कुल निक्षेपमध्ये वाणिज्य बैंकमा ७७ खर्ब १२ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थामा ८ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ। वाणिज्य बैंकहरूले ५४ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६ खर्ब ८० अर्ब रुपैयाँ छ।
बैंकिङ प्रणालीको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.१६ प्रतिशतमा सीमित छ। नियामकीय व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने भए पनि कर्जाको माग कमजोर हुँदा उपलब्ध स्रोतको पूर्ण उपयोग हुन सकेको छैन।
१३ खर्बभन्दा बढी रकम राष्ट्र बैंकमा:
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। चालु आर्थिक वर्षको मंसिर ११ गतेसम्म राष्ट्र बैंकका ऋणपत्र, निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामा गरी कुल १३ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको रकम रहेको छ।
त्यसमध्ये राष्ट्र बैंक ऋणपत्रमा ४ खर्ब रुपैयाँ, निक्षेप संकलन उपकरणमा ८ खर्ब ३५ अर्ब ७० करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामा १ खर्ब ४० अर्ब ३० करोड रुपैयाँ रहेको छ।
उक्त अवधिमा राष्ट्र बैंकले २९ पटक सामान्य निक्षेप संकलन उपकरण प्रयोग गरी १ खर्ब ६८ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यस्तै, स्थायी निक्षेप सुविधामार्फत ८० पटकमा ९ खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
तरलता प्रवाह गर्ने रिपो, सोझै खरिद, ओभरनाइट रिपो तथा स्थायी तरलता सुविधामार्फत भने यस अवधिमा कुनै कारोबार भएको छैन।