धनगढीः कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ का सङ्घीय सांसद खेमराज कोइरालाले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुने विषयमा ढुक्क रहन आग्रह गरेका छन्।
सांसद कोइरालाले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग खिचेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै यस्तो बताएका हुन्। उनले तस्बिरसँगै लेखेका छन्, ‘ढुक्क रहौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मज्जाले चल्छ।’
सांसद कोइरालाको यो भनाइ गेटा विश्वविद्यालयमा चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने विषयलाई लिएर बहस र विवाद भइरहेका बेला सार्वजनिक भएको हो।
यसै शैक्षिक सत्रदेखि गेटामा एमबीबीएससहित चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगले ९० सिट निर्धारण गरिसकेको छ। आयोगले एमबीबीएसमा ५०, बीएस्सी नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याबोरेटरी टेक्नोलोजी (एमएलटी) मा १० र बी अप्टोमेट्रीमा १० सिट निर्धारण गरेको हो। आयोगले पहिलोपटक गेटा विश्वविद्यालयका लागि यी कार्यक्रमको सिट निर्धारण गरेको हो।
तर, विश्वविद्यालयमा पठनपाठन सुरु गर्ने तयारीसँगै आवश्यक भौतिक पूर्वाधार, विशेषज्ञ जनशक्ति र शिक्षण अस्पतालको अवस्थालाई लिएर डाक्टर गोविन्द केसीले प्रश्न उठाएका छन्। केसी गेटामा विश्वविद्यालय सञ्चालन गर्ने र यो वर्षदेखि नै पठनपाठन गर्न नहुने भन्दै दुई पटक अनशन बसिसकेका छन्। उनले मंसिर १२ गते शनिवारदेखि २६ औं अनशन बस्ने अल्टिमेटम दिएका छन्।
डा. केसीले गेटा विश्वविद्यालयमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिने चिकित्सा शिक्षा आयोगको निर्णय पुनरावलोकन गर्नुपर्ने, आवश्यक पूर्वाधार र जनशक्ति सुनिश्चित गर्नुपर्ने तथा शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरेपछि मात्रै पठनपाठन सुरु गर्नुपर्ने माग राखेका थिए। उनले आयोगले आवश्यक मापदण्ड पूरा भए/नभएको पर्याप्त मूल्याङ्कन नगरी सिट निर्धारण गरेको भन्दै निर्णयमाथि प्रश्न उठाएका थिए।
डा. केसीको अनशनपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र उनीबीच सहमति भएको थियो। सहमतिअनुसार गेटामा एमबीबीएस कार्यक्रम सञ्चालनको अनुमति र सिट निर्धारणसम्बन्धी निर्णयको पुनरावलोकन गर्न प्रा. डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको छ। समितिले चिकित्सा शिक्षा आयोगको निर्णय मापदण्डअनुसार भए/नभएको अध्ययन गर्नेछ। त्यसपछि सरकारबाट प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने र विद्यार्थी भर्नाको प्रक्रिया अघि बढाउने सहमति भएको थियो। उक्त सहमतिपछि डा. केसीले आफ्नो २५औँ अनशन अन्त्य गरेका थिए।
यसअघि पनि डा. केसीले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न नहुने तर शिक्षण अस्पतालको पूर्वाधार विकास र मेडिकल कलेज सुरु गर्नुपर्ने विषय उठाउँदै आएका थिए।
सुदूरपश्चिम प्रदेशमै पहिलोपटक एमबीबीएसलगायतका चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनको तयारी भइरहेका बेला सांसद कोइरालाले विश्वविद्यालय मज्जाले सञ्चालन हुने भन्दै दिएको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यद्यपि, सांसद कोइरालाले मन्त्री पोखरेलसँगको भेटमा विश्वविद्यालय सञ्चालनका विषयमा के-कस्तो छलफल भएको हो र विश्वविद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारले के योजना बनाएको छ भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।