काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जारी नगरेका तीनवटा अध्यादेशबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार शीतलनिवास पुगेका छन्। राष्ट्रपति पौडेलसँग करिब ४५ मिनेट भएको भेटमा रोकिएका अध्यादेश जारी गर्नुपर्ने कारण र प्रधानमन्त्री वालेन्द्र शाहको हालैको राजकीय भ्रमणबारे कुराकानी भएको हो।
लामिछानेले मन्त्रिपरिषद्ले सिफारिस गरेका तर राष्ट्रपतिबाट जारी हुन बाँकी रहेका अध्यादेशका विषयमा पौडेलसँग चासो राखेका थिए। सरकारले अध्यादेश ल्याउनुपर्ने आवश्यकता र त्यसको औचित्यबारे पनि उनले राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ।
राष्ट्रपति पौडेलले हालसम्म तीनवटा अध्यादेश जारी गरेका छैनन्। तीमध्ये मन्त्रिपरिषद्को कात्तिक १७ गतेको बैठकले सिफारिस गरेको प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश छन्।
त्यस्तै, मङ्सिर ४ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको ‘जेनजी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ पनि जारी हुन बाँकी छ।
यी अध्यादेश रोकिनुको कारण बुझ्न र सरकारको तर्फबाट त्यसको आवश्यकता स्पष्ट पार्न लामिछाने राष्ट्रपति कार्यालय पुगेका हुन्। विशेषगरी प्रेस काउन्सिलसम्बन्धी अध्यादेशलाई लिएर सरोकारवाला निकाय नेपाल पत्रकार महासंघले यसअघि नै राष्ट्रपति पौडेललाई भेटेर उक्त अध्यादेश जारी नगर्न लिखित आग्रह गरिसकेको छ।
लामिछानेको राष्ट्रपति भेटलाई बिहीबार प्रधानमन्त्री शाहसँग भएको लामो छलफलसँग जोडेर पनि हेरिएको छ । प्रधानमन्त्री र रास्वपा सभापतिबीचको छलफलपछि लामिछाने राष्ट्रपतिलाई भेट्न पुग्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
भेटमा प्रधानमन्त्री शाहले मङ्सिर ६ र ७ गते गरेको राजकीय भ्रमणबारे पनि लामिछानेले राष्ट्रपतिलाई जानकारी गराएका थिए । प्रधानमन्त्री शाहले भने भ्रमणअघि वा फर्किएपछि राष्ट्रपति पौडेलसँग औपचारिक भेट गरेर जानकारी गराएको सार्वजनिक भएको छैन।
विगतमा प्रधानमन्त्रीहरूले संसद् बैठक आह्वान तथा स्थगित गर्दा र विदेश भ्रमणमा जाँदा राष्ट्रपतिलाई प्रत्यक्ष भेटेर जानकारी गराउने अभ्यास थियो। तर, प्रधानमन्त्री शाहले यो परम्परालाई निरन्तरता दिएका छैनन्। संसद् बैठक आह्वान, स्थगन तथा विदेश भ्रमणका क्रममा पनि उनी राष्ट्रपतिलाई भेट्न गएको सार्वजनिक भएको छैन।
प्रधानमन्त्री र राष्ट्रपतिबीच प्रत्यक्ष संवादको परम्परा कमजोर देखिएका बेला सरकारका निर्णय र गतिविधिबारे रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई जानकारी गराउने भूमिका निर्वाह गरिरहेको देखिन्छ। यसले सरकार र राष्ट्रपति कार्यालयबीचको संवादको शैलीबारे पनि प्रश्न उठाएको छ।