काठमाडौँ– सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन सुधारका रूपमा स्थापित गर्न आगामी पाँच वर्षसम्म निरन्तर बजेट विनियोजन गर्ने भएको छ। सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्।
नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षालाई लोककल्याणकारी राज्यको आधारस्तम्भका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए। आगामी वर्षहरूमा पनि कोषको दायरा विस्तार गर्न आवश्यक बजेट उपलब्ध गराउँदै जाने उनको भनाइ छ।
उनले आगामी बजेटमार्फत सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन र स्थायी सुधारका रूपमा स्थापित गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार सामाजिक सुरक्षालाई प्रभावकारी बनाउँदै लैजान राज्यले दुईवटा आधारलाई प्राथमिकता दिनुपर्छ । पहिलो योगदानमा आधारित सामाजिक बीमा र दोस्रो न्यून आय भएका तथा विपन्न वर्गका लागि सामाजिक सहायता एवं पुनर्वितरण हो।
आयआर्जन गर्न सक्ने नागरिकलाई योगदानमा आधारित सामाजिक बीमामा समेट्नुपर्ने र अत्यन्त न्यून आय भएका तथा विपन्न नागरिकलाई राज्यले सामाजिक सहायतामार्फत संरक्षण गर्नुपर्ने उनले बताए । यो अवधारणा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दस्तावेजमा समेत समेटिएको वाग्लेको भनाइ छ ।
अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षा कार्यक्रमलाई खर्चका रूपमा मात्रै नभई आर्थिक उत्पादकत्व बढाउने लगानीका रूपमा पनि बुझ्नुपर्ने बताए । विभिन्न देशमा भएका अध्ययन तथा प्रभाव मूल्यांकनले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्दा विशेषगरी साना तथा मझौला उद्यमको उत्पादकत्वमा सकारात्मक प्रभाव परेको देखाएको उनले उल्लेख गरे।
सामाजिक न्यायका लागि गरिने लगानी आफैँमा महत्वपूर्ण उद्देश्य भएको बताउँदै उनले सामाजिक सुरक्षाले समृद्धिको सिर्जना र त्यसको न्यायोचित वितरण दुवैमा योगदान पुर्याउने धारणा राखे। नयाँ पुस्तालाई समेत राज्यको उपस्थिति र संरक्षणको प्रत्याभूति दिलाउन सामाजिक सुरक्षा प्रणाली प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो।
यसैबीच, सरकारले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई भौतिक पूर्वाधार विकाससँग जोड्ने सम्भावनाबारे पनि छलफल अघि बढाएको छ। अनिवार्य पेन्सनका लागि प्रयोग हुने रकम परिचालन गर्न कोषको न्यूनतम दायित्व भुक्तानी सुनिश्चित हुने गरी ब्याजदर निर्धारण गरेर विशेष प्रकृतिको ऋणपत्र जारी गर्ने नीतिगत विकल्पमाथि काम भइरहेको वाग्लेले जानकारी दिए।
त्यस्तै, हाल विभिन्न निकाय तथा संरचनामार्फत सञ्चालन भइरहेका छरिएका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत प्रणालीमा ल्याउने विषयमा पनि सरकारले अध्ययन गरिरहेको छ। दिगो सामाजिक सुरक्षा सुनिश्चित गर्न आवश्यक संरचना निर्माणका विभिन्न विकल्पबारे छलफल भइरहेको उनले बताए।
स्वास्थ्य बीमालगायत अन्य लोककल्याणकारी कार्यक्रमको समेत समीक्षा भइरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले आगामी बजेटमा यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने प्रतिबद्धता जनाए। सरकारले श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्नुका साथै सामाजिक सुरक्षालाई आर्थिक विकास र उत्पादकत्व वृद्धिसँग जोड्ने लक्ष्य राखेको उनको भनाइ छ।