काठमाडौं– रसुवा–भोटेकोशीमा आएको विनाशकारी बाढीले सयौँ सवारीसाधन बगाएपछि प्रभावित यातायात व्यवसायी बीमा रकम पाउने प्रक्रियामै अल्झिएका छन्। बाढीमा बगेका अधिकांश सवारीसाधनको भौतिक अवशेषसमेत फेला नपरेपछि बीमा कम्पनीबाट क्षतिपूर्ति दाबी गर्न कानुनी र प्राविधिक समस्या देखिएको हो।
गत १० भदौमा आएको बाढीले ४०९ वटा सवारीसाधनमा क्षति पुर्याएको क्षति मूल्यांकन समितिको प्रतिवेदनले देखाएको छ। तीमध्ये सबैभन्दा धेरै ३४४ वटा कन्टेनर छन्। बाढीले सवारीसाधनतर्फ मात्रै १ अर्ब ४० करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको प्रारम्भिक मूल्यांकन गरिएको छ। यद्यपि, २५ वटा सवारीसाधनको क्षति अझै मूल्यांकन हुन सकेको छैन।
सार्वजनिक यातायात क्षेत्रमा बाढीले पुर्याएको क्षतिको अध्ययन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा सवारीसाधनको बीमा अवस्था, क्षतिको प्रकृति र राहत तथा क्षतिपूर्तिका विषयमा विभिन्न सुझाव दिएको छ।
प्रतिवेदनअनुसार बाढीमा बगेका सबै कन्टेनर पूर्णक्षति भएको अवस्था छ। तर तीमध्ये धेरैको भौतिक अवशेष फेला नपरेकाले बीमा दाबी भुक्तानीमा समस्या देखिएको हो। कुल ३४४ कन्टेनरमध्ये ३२७ वटाको क्षति मूल्यांकन गर्दा १ अर्ब १६ करोड २२ लाख १९ हजार ८७८ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। बाँकी १७ कन्टेनरको मूल्यांकन हुन सकेको छैन।
कन्टेनरबाहेक तीनवटा टिपर र पाँचवटा जिप, भ्यान तथा टाटा सुमोसहित कुल २५ वटा सवारीसाधनको क्षति मूल्यांकन बाँकी छ।
बाढीबाट क्षति भएका सवारीसाधनको प्रकृति र अवस्थाअनुसार न्यूनतम दुई लाखदेखि अधिकतम ९० लाख रुपैयाँसम्मको क्षति भएको समितिको मूल्यांकन छ। पर्यटक बसको क्षति अधिकतम ९० लाख रुपैयाँसम्म पुगेको छ भने कन्टेनर र ट्रकमा १६ लाखदेखि ७० लाख रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको छ।
क्षतिग्रस्त सवारीसाधनमध्ये अधिकांशको बीमा भए पनि सबैको बीमा अवस्था समान छैन। केही टिपरको तेस्रो पक्ष बीमा मात्रै रहेको पाइएको छ। मोटरसाइकल तथा अन्य केही सवारीसाधनको विवरणसमेत पूर्ण रूपमा खुल्न बाँकी छ।
अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर खरिद गरिएका सवारीसाधन बाढीमा पूर्ण रूपमा नष्ट वा बेपत्ता भएपछि व्यवसायी थप आर्थिक दबाबमा परेका छन्। सवारीसाधनबाट आम्दानी हुन नसकेको अवस्थामा बैंकको किस्ता र ब्याज तिर्नुपर्ने बाध्यताले उनीहरूको समस्या थपिएको छ।
समितिले सवारीसाधनको क्षति प्रमाणीकरण गर्दा यातायात व्यवस्था कार्यालयको दर्ता अभिलेख, जिल्ला प्रशासन कार्यालय तथा नेपाल प्रहरीको क्षति र बेपत्तासम्बन्धी मुचुल्कालाई आधार बनाएको जनाएको छ। त्यस्तै, स्थानीय तहबाट प्राप्त सिफारिस, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश तथा स्थानीय सरकारका अध्ययन र बीमा कम्पनीले तयार पारेका क्षति मूल्यांकन प्रतिवेदनसमेत अध्ययन गरिएको छ।
अवशेष नभए पनि पूर्णक्षति मानेर बीमा दिन सुझाव:
बाढीमा बगेका सवारीसाधनको अवशेष फेला नपरेकै कारण बीमा भुक्तानी रोक्न नहुने समितिको निष्कर्ष छ। बीमा भएका सवारीसाधनका हकमा बीमा लेख र त्यसमा उल्लेखित सर्तअनुसार बिमांक रकम सम्बन्धित बीमा कम्पनीबाट भुक्तानी गर्न समितिले सुझाव दिएको छ।
विशेषगरी बाढीमा बगेर बेपत्ता भएका र भौतिक अवशेष फेला नपरेका सवारीसाधनलाई प्रहरी प्रतिवेदन तथा यातायात कार्यालयको अभिलेखका आधारमा पूर्णक्षति मानी बीमा दाबी भुक्तानी प्रक्रिया अघि बढाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।
यसले सवारीसाधन नै फेला नपरेको अवस्थामा क्षति प्रमाणित गर्ने प्रक्रियालाई सहज बनाउन सक्ने देखिन्छ। तर अन्तिम भुक्तानी भने सम्बन्धित बीमा लेखका सर्त र आवश्यक प्रमाणीकरणका आधारमा हुने समितिको सुझाव छ।
बीमा नभएका सवारीलाई सरकारी राहत दिन सिफारिस:
समितिले बीमा नै नभएका वा तेस्रो पक्ष बीमा मात्रै भएका सवारीसाधनका लागि पनि सरकारसँग विशेष राहत प्याकेज माग गरेको छ।
यस्ता सवारीको निर्माण वर्ष, हालको बजार मूल्य र क्षतिको अवस्थालाई आधार मानेर मूल्यांकन गरी नेपाल सरकारको विपद् व्यवस्थापन कोषबाट राहत उपलब्ध गराउन समितिले सिफारिस गरेको छ।
बीमा नहुँदा वा पर्याप्त बीमा सुविधा नहुँदा व्यवसायीले सम्पूर्ण आर्थिक क्षति आफैँ बेहोर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सरकारले विशेष व्यवस्था गर्नुपर्ने समितिको सुझाव छ।
बैंकको किस्ता र ब्याजमा राहत दिनुपर्ने:
बाढीमा सवारीसाधन गुमाएका व्यवसायीले बीमा रकम प्राप्त नगर्दासम्म बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न कठिनाइ हुने अवस्थालाई पनि समितिले प्रतिवेदनमा समेटेको छ।
धितोमा राखिएका सवारीसाधन पूर्ण रूपमा नष्ट वा बेपत्ता भएपछि आम्दानीको स्रोत बन्द भएको अवस्थामा व्यवसायीलाई तत्कालै नियमित किस्ता र ब्याज तिर्न बाध्य पार्नु उपयुक्त नहुने समितिको निष्कर्ष छ।
त्यसैले बीमा दाबी भुक्तानी नभएसम्मको अवधिको ब्याज तथा हर्जाना मिनाहा गर्न र आवश्यकताअनुसार कर्जा पुनर्संरचना गर्न समितिले सुझाव दिएको छ।
मृतकका परिवारलाई पाँच लाख आकस्मिक राहत सिफारिस:
भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका चालक, सहचालक, मजदुर र यात्रुका परिवारलाई राहत उपलब्ध गराउन पनि समितिले सरकारलाई सिफारिस गरेको छ।
प्रचलित सवारी तथा यातायात व्यवस्था ऐन तथा सरकारको विपद् राहत मापदण्डअनुसार तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। बाढीमा ज्यान गुमाएका चालक, सहचालक, मजदुर तथा यात्रुका परिवारलाई कम्तीमा प्रतिमृतक पाँच लाख रुपैयाँ आकस्मिक राहत उपलब्ध गराउन समितिले सुझाव दिएको छ।
बाढीले सवारीसाधन मात्र नभई यातायात व्यवसायमा निर्भर सयौँ परिवारको जीविकोपार्जनमा समेत असर पुर्याएको छ । त्यसैले बीमा दाबी भुक्तानी, सरकारी राहत र बैंक कर्जा सहजीकरणलाई एकसाथ अघि बढाउनुपर्ने देखिएको छ । समितिले सुझाव दिए पनि त्यसको कार्यान्वयन र पीडितले राहत तथा क्षतिपूर्ति पाउने प्रक्रिया भने सरकारका आगामी निर्णयमा निर्भर रहनेछ।