धनगढीका १४ वडामा सुकुम्बासीलाई लालपुर्जा दिने प्रक्रिया अघि बढ्यो - Chaitanya News
  • 2026-11-27
  • 15:43:14
  • शुक्रबार,मंसिर १२, २०८३
  • धनगढीका १४ वडामा सुकुम्बासीलाई लालपुर्जा दिने प्रक्रिया अघि बढ्यो

    धनगढीका १४ वडामा सुकुम्बासीलाई लालपुर्जा दिने प्रक्रिया अघि बढ्यो

    धनगढीः भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) उपलब्ध गराउने प्रक्रिया अघि बढाउन धनगढी उपमहानगरपालिकाले १४ वडाको विवरण जिल्ला भूमि समस्या समाधान समितिमा पठाएको छ।

    उपमहानगरपालिकाले शुक्रबार वडा नम्बर १, ३, ४, ५, ६, १०, १२, १५ र १६ का भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान तथा प्रमाणीकरण गरी विवरण समितिमा पठाएको हो। यसअघि वडा नम्बर २, ७, ८, ९ र १७ को विवरण पनि समितिमा पठाइसकिएको छ।

    भूमि आयोगले यसअघि उपमहानगरपालिकालाई भूमिहीन तथा अव्यवस्थित बसोवासीको लगत सङ्कलन तथा प्रविष्टि, बस्तीको तहगत क्षेत्र निर्धारण र नापी गर्ने जिम्मेवारी दिएको थियो। उपमहानगरपालिकाले उक्त जिम्मेवारीअनुसारका सबै काम सम्पन्न गरी जिल्ला समितिमा पठाइसकेको जनाएको छ।

    त्यसपछि आयोगले व्यक्तिको पहिचान तथा प्रमाणीकरण गरी विवरण पुनः पठाउन पत्राचार गरेपछि उपमहानगरपालिकाले वडागत रूपमा उक्त प्रक्रिया अघि बढाएको हो।

    अन्य वडामा रहेका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई आफ्नो विवरण प्रमाणीकरणका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ।

    वडा कार्यालयबाट व्यक्तिको पहिचानसम्बन्धी फाइल नगर कार्यपालिकामा प्राप्त भएपछि बैठकबाट निर्णय गराएर जिल्ला भूमि समस्या समाधान समिति कैलालीमा पठाइने नगरप्रमुख गोपाल हमालले बताएका छन्।

    उपमहानगरपालिकाले बाँकी वडाको पहिचान तथा प्रमाणीकरणको काम पनि अघि बढिरहेको जनाएको छ। १४ वडाको विवरण समितिमा पुगेपछि धनगढीमा भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा उपलब्ध गराउने प्रक्रिया थप अघि बढ्ने अपेक्षा गरिएको छ।