काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पुराना नेता, कार्यकर्ता, शहीद तथा प्रजातन्त्रका सेनानीको योगदानको संरक्षण र सम्मानका लागि विशेष अभियान सञ्चालन गर्ने बताएका छन्। उनले शहीद परिवार, प्रजातन्त्रका सेनानी तथा द्वन्द्वपीडित परिवारलाई लक्षित गरी १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा पनि गरेका छन्।
शहीद लीला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको प्रजातान्त्रिक सेनानी एलबी गुरुङ सम्मान तथा पुस्तक वितरण कार्यक्रममा बोल्दै सभापति थापाले काँग्रेसको ऐतिहासिक योगदान र लोकतान्त्रिक आन्दोलनका उपलब्धिलाई संस्थागत रूपमा संरक्षण गरिने बताए।
उनले नेपाली काँग्रेसको इतिहास र योगदानलाई मेटिन नदिने उल्लेख गर्दै नयाँ पुस्ताले पार्टीमा आबद्ध भएकोमा गर्व गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे। नेपालको सबैभन्दा पुरानो राजनीतिक पार्टी हुनु कमजोरी नभई गौरवको विषय भएको उनको भनाइ थियो।
थापाले पार्टीको इतिहासलाई केवल विगतको उपलब्धिमा सीमित नराखी स्थापनाकालीन मूल्य, मान्यता र आदर्शलाई पुनः आत्मसात् गर्दै नयाँ पुस्तालाई आकर्षित गर्ने बताए।
उनले भने, ‘हामी पुरानो पार्टी हौँ भनेर लुकाउने होइन, गर्वका साथ भन्ने हो। नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस हो। आधुनिक नेपालको इतिहास लेख्दा नेपाली काँग्रेसबाट सुरु नगरी इतिहासका पाना अगाडि बढ्न सक्दैनन्। नयाँ पुस्ताका साथीहरूलाई काँग्रेस भएकोमा गौरव लाग्ने अवस्था हामी बनाउनेछौँ। हामी बनाएर छाड्नेछौँ।’
सभापति थापाले पार्टीमा योगदान गरेको व्यक्तिको सफलतालाई पद र राजनीतिक नियुक्तिका आधारमा मात्र मूल्याङ्कन गर्न नहुने धारणा राखे। सांसद, मन्त्री, प्रधानमन्त्री वा पार्टीको जिम्मेवारीमा पुग्नुलाई मात्रै सफलताको मापदण्ड बनाउँदा लामो समय पार्टीका लागि योगदान गरेका तर पद नपाएका कार्यकर्ता र उनीहरूका परिवारको योगदान ओझेलमा पर्ने उनले बताए।
शहीद, प्रजातन्त्रका सेनानी र उनीहरूका परिवार पार्टीका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै थापाले लोकतन्त्र र नागरिक अधिकारका लागि जीवन समर्पण गर्नेहरूको योगदानलाई उचित सम्मान दिनुपर्ने बताए।
यसका लागि काँग्रेसले देशभरका ७५३ वटै स्थानीय तहबाट प्रजातन्त्रका सेनानीहरूको विवरण संकलन गरी राष्ट्रिय अभिलेख तयार गर्ने अभियान सुरु गरेको उनले जानकारी दिए। संकलित विवरणलाई डिजिटल अभिलेखका रूपमा व्यवस्थित गरिनेछ ।
त्यस्तै, पार्टी कार्यालयलाई काँग्रेसको स्थापना कालदेखि हालसम्मको राजनीतिक यात्रा, लोकतान्त्रिक आन्दोलन र ऐतिहासिक घटनाक्रमबारे जानकारी दिने स्थलका रूपमा विकास गर्ने योजना रहेको उनले बताए । पार्टी कार्यालयमा प्रवेश गर्ने आगन्तुकले बाहिरिँदासम्म काँग्रेसको इतिहास र नेपालको राजनीतिक परिवर्तनमा पार्टीले खेलेको भूमिकाबारे जानकारी पाउने गरी संरचना तयार गरिने उनको भनाइ छ।
थापाले शहीद परिवार, प्रजातन्त्रका सेनानी तथा द्वन्द्वपीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने तयारी भइरहेको पनि बताए । उक्त कोषबाट विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग उपलब्ध गराइनेछ । अक्षयकोष स्थापनाको काम यसै वर्षदेखि सुरु गर्ने योजना रहेको उनले जानकारी दिए ।
उनले पार्टीका ऐतिहासिक व्यक्तित्वहरूको स्मृति र सम्मानमा गरिने कार्यक्रमसमेत अबदेखि पार्टी कार्यालयमै आयोजना गरिने बताए ।