पुस १८ भित्र सातै प्रदेशमा काँग्रेस अधिवेशन सक्ने सभापति थापाको तयारी - Chaitanya News
  • 2026-11-29
  • 15:01:26
  • आइतबार,मंसिर १४, २०८३
  • पुस १८ भित्र सातै प्रदेशमा काँग्रेस अधिवेशन सक्ने सभापति थापाको तयारी

    पुस १८ भित्र सातै प्रदेशमा काँग्रेस अधिवेशन सक्ने सभापति थापाको तयारी

    काठमाडौँ– नेपाली काँग्रेसले पार्टीको संगठनात्मक अधिवेशनलाई तीव्रता दिँदै आगामी पुस १८ गतेभित्र सातवटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ। प्रतिकूल मौसमका कारण हिमाली जिल्लालाई प्राथमिकतामा राखेर जिल्ला अधिवेशनको कार्यतालिका बनाइएको छ।

    पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि अधिवेशनको प्रस्तावित मिति तय गरिएको जानकारी दिएका हुन्। उनका अनुसार हिमाली जिल्लामा मंसिर २४ र २५ गते जिल्ला अधिवेशन हुनेछ भने अन्य जिल्लामा पुस ४ र ५ गते अधिवेशन सञ्चालन गरिनेछ।

    प्रदेश अधिवेशनका लागि पुस १२ देखि १८ गतेसम्मको समय निर्धारण गर्ने तयारी गरिएको छ। सातवटै प्रदेशमा केन्द्रीय प्रमुख पदाधिकारीहरूको उपस्थिति र सम्बोधन रहने भएकाले सबै प्रदेशको अधिवेशन एकै दिन नगरी एक–दुई दिनको अन्तरमा सञ्चालन गरिने सभापति थापाले बताएका छन्।

    हिमाली क्षेत्रमा हिमपात र प्रतिकूल मौसमका कारण अधिवेशन प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यहाँका जिल्लामा पहिले नै निर्वाचन प्रक्रिया सम्पन्न गर्न लागिएको हो । अन्य जिल्लामा भने निर्धारित कार्यतालिकाअनुसार पुस ४ र ५ गते अधिवेशन गर्ने तयारी छ।

    अधिवेशनका क्रममा विशेष परिस्थिति वा अन्य बाध्यता उत्पन्न भए सम्बन्धित जिल्ला कार्यसमितिसँग छलफल गरेर निर्वाचन समितिले मितिमा सामान्य परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ।

    जिल्ला तथा प्रदेश अधिवेशनको विस्तृत कार्यतालिका केन्द्रीय निर्वाचन समितिले सोमबार सार्वजनिक गर्ने जनाएको छ।