बालेनको चीन भ्रमण कहिले ? परराष्ट्रमन्त्रीले दिए यस्तो जवाफ - Chaitanya News
  • 2026-11-29
  • 12:29:05
  • आइतबार,मंसिर १४, २०८३
  • बालेनको चीन भ्रमण कहिले ? परराष्ट्रमन्त्रीले दिए यस्तो जवाफ

    बालेनको चीन भ्रमण कहिले ? परराष्ट्रमन्त्रीले दिए यस्तो जवाफ

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको चीन भ्रमणको तयारी भइरहेको भए पनि भ्रमणको मिति भने अझै निश्चित भएको छैन। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको चीन भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी अघि बढाइरहेको तर भ्रमणको समय टुङ्गो नलागेको बताएका छन्।

    आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ का मतदातासँगको भेटघाटका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले भारत भ्रमणपछि प्रधानमन्त्रीले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने विषय स्वाभाविक भए पनि त्यसको मिति तय भइनसकेको स्पष्ट पारे ।

    भारत भ्रमणपछि चीन भ्रमण हुन सक्ने आधारमा समाचारहरू आएको हुन सक्ने उनको भनाइ थियो।

    ‘छिमेकी मुलुक भारतको भ्रमण सकिएपछि उत्तरी छिमेकी चीनको पनि भ्रमण हुन्छ भन्ने आधारमा समाचार आएका होलान्। तर अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुने भन्ने कुराको टुङ्गो लागिसकेको छैन,’ उनले भने।

    मन्त्री खनालले उच्चस्तरीय भ्रमणका लागि परराष्ट्र मन्त्रालयले निरन्तर तयारी गर्ने गरेको पनि बताए। यद्यपि, प्रधानमन्त्रीको भ्रमणका लागि निश्चित मिति र समयावधि भने निर्धारण भइनसकेको उनले प्रस्ट पारे।

    ‘अहिले ठ्याक्कै यही मिति र समयमा सम्माननीयज्यूको चीन भ्रमण हुन्छ भनेर समय अवधि तोकिइसकेको छैन,’ उनले भने।