काठमाडौं– नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख बन्ने प्रतिस्पर्धामा ११ जना उम्मेदवारले स्थान सुरक्षित गरेका छन् । प्रारम्भिक चरणमा छनोट भएका १६ जनामध्ये पर्यटन क्षेत्रका समस्या समाधान गर्ने क्षमताको मूल्याङ्कनमा उच्च अंक ल्याउने ११ जना अर्को चरणका लागि छनोट भएका हुन्।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि, २०८३ को दफा ६ को उपदफा (१०) अनुसार रणनीतिक कार्ययोजनामा आधारित छनोट प्रक्रिया सञ्चालन गरिएको थियो। उक्त प्रक्रियाबाट सुरुमा १६ जना उम्मेदवार छनोट भएका थिए।
त्यसपछि पर्यटन क्षेत्रका विभिन्न समस्या समाधानसम्बन्धी परीक्षणका आधारमा प्राप्त अंकका आधारमा ११ जनालाई छनोट गरिएको हो।
छनोट हुनेमा आशुतोष प्रधान (चितवन), उत्तमप्रसाद देवकोटा (चितवन), टेकबहादुर महत (इलाम), नोजल कोइराला (मोरङ) र युविका भण्डारी (काठमाडौं) रहेका छन्।
त्यस्तै रोहिणीप्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्रीप्रसाद भट्टराई (रुपन्देही), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि छनोट भएका छन्।
यसअघि गत कात्तिक २० गते सार्वजनिक गरिएको १६ जनाको सूचीमा रहेका पाँच जना भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । बाहिरिनेमा धर्मराज दवाडी (चितवन), राजाराम केसी (काठमाडौं), रामचन्द्र सेढाईं (गोरखा), विनोद अर्याल (पाल्पा) र सन्तोष विक्रम थापा (काठमाडौं) छन्।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पद गत वैशाख १९ गतेदेखि रिक्त छ । राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेशमार्फत तत्कालीन कार्यकारी प्रमुख दीपकराज जोशीलाई सरकारले पदबाट हटाएपछि बोर्ड नेतृत्वविहीन बनेको थियो । त्यसयता निमित्त नेतृत्वमार्फत बोर्डको प्रशासनिक तथा नियमित कामकाज सञ्चालन हुँदै आएको छ।