सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको नयाँ रणनीति, स्थानीयसँग माग्यो साथ - Chaitanya News
  • 2026-11-29
  • 08:38:22
  • आइतबार,मंसिर १४, २०८३
  • सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको नयाँ रणनीति, स्थानीयसँग माग्यो साथ

    सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको नयाँ रणनीति, स्थानीयसँग माग्यो साथ

    रौतहट — नेपाल–भारत सीमा क्षेत्रमा बढ्दो आपराधिक गतिविधि नियन्त्रण र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले स्थानीय समुदायसँग सहकार्य बढाउने पहल थालेको छ। सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायले स्थानीय नागरिक तथा जनप्रतिनिधिसँग छलफल गर्दै सुरक्षा चुनौती र समाधानका उपायबारे सुझाव सङ्कलन गरेको छ।

    सशस्त्र प्रहरी बल नेपालले रौतहटको बौधीमाई नगरपालिका–७ स्थित भन्सार नाकामा स्थानीयसँग सीमा क्षेत्रको सुरक्षा अवस्था र अपराध नियन्त्रणका विषयमा छलफल गरेको हो।

    छलफलका क्रममा सीमा नाकाबाट हुने लागुऔषध ओसारपसार, चोरी पैठारी, मानव बेचबिखन, अवैध हातहतियार तथा खरखजनाको कारोबार र राजस्व चुहावटजस्ता गतिविधि नियन्त्रण गर्ने विषयलाई प्राथमिकता दिइएको थियो।

    सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रणमा स्थानीय नागरिकको भूमिका महत्त्वपूर्ण हुने बताए।

    उनले सुरक्षा निकायको एकल प्रयासले मात्रै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सम्भव नहुने उल्लेख गर्दै स्थानीयको सूचना, सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे।

    कार्यक्रममा बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल, ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवी तथा सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले पनि सुरक्षा निकाय र स्थानीयबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

    उनीहरूले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र आपराधिक गतिविधि न्यूनीकरण गर्न सरकारी निकाय तथा स्थानीय समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।