काठमाडौँ– विशेषज्ञ स्वास्थ्य सेवा सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित सरकारले सातै प्रदेशमा ८३८ जना विशेषज्ञ चिकित्सक परिचालन गरेको छ। एमडी, एमएस र एमडिएस उत्तीर्ण चिकित्सकलाई विभिन्न प्रदेश तथा सङ्घीय अस्पतालमा खटाइएपछि उपचारका लागि राजधानी र ठूला सहर पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार सबैभन्दा बढी विशेषज्ञ चिकित्सक बागमती प्रदेशमा खटिएका छन्। बागमतीमा २०८ जना चिकित्सक परिचालन हुँदा कोशीमा १५४, लुम्बिनीमा १३३ र गण्डकीमा १२९ जना खटिएका छन्।
त्यस्तै मधेस प्रदेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णालीमा ५२ जना विशेषज्ञ चिकित्सकको जिम्मेवारी तोकिएको छ।
मन्त्रालयको विवरणअनुसार खटाइएका कुल चिकित्सकमध्ये ५११ जना प्रदेश स्वास्थ्य मन्त्रालयमा र ३२७ जना सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटिएका छन्।
सङ्घीय सरकारले प्रदेशमा पठाएका चिकित्सकलाई प्रदेश सरकारले आफ्नो आवश्यकता र प्राथमिकताका आधारमा स्थानीय तहसम्म परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ। यसले प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञ जनशक्तिको अभाव कम गर्न र उपचार सेवा विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
विशेषज्ञ चिकित्सकको परिचालनसँगै एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक उपचार, आँखा, बाल रोग, दन्त तथा मानसिक स्वास्थ्यजस्ता सेवामा सुधार आउने अपेक्षा छ।
विशेषगरी सुरक्षित सुत्केरी सेवा, शल्यक्रिया तथा आकस्मिक उपचारका लागि आवश्यक विशेषज्ञ जनशक्ति उपलब्ध हुँदा दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकले समेत आफ्नै नजिकको स्वास्थ्य संस्थाबाट उपचार पाउने सम्भावना बढ्नेछ।
यसअघि जटिल तथा विशेषज्ञ उपचारका लागि काठमाडौँ वा अन्य ठूला सहर जानुपर्ने अवस्थालाई कम गर्न चिकित्सक परिचालनले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यद्यपि चिकित्सक खटाउनुका साथै आवश्यक उपकरण, पूर्वाधार र औषधिको उपलब्धता सुनिश्चित गर्न सके मात्रै विशेषज्ञ स्वास्थ्य सेवाको प्रभावकारी विस्तार सम्भव हुनेछ।