ईपीजी प्रतिवेदन अघि बढाउने नेपालको तयारी, मोदीसँग भेट्ने समय पाउने आशा - Chaitanya News
  • 2026-11-27
  • 16:28:51
  • शुक्रबार,मंसिर १२, २०८३
  • ईपीजी प्रतिवेदन अघि बढाउने नेपालको तयारी, मोदीसँग भेट्ने समय पाउने आशा

    ईपीजी प्रतिवेदन अघि बढाउने नेपालको तयारी, मोदीसँग भेट्ने समय पाउने आशा

    काठमाडौँ — लामो समयदेखि थन्किएर रहेको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पुर्‍याउने प्रक्रिया अघि बढ्ने नेपालले विश्वास व्यक्त गरेको छ। प्रतिवेदन बुझाउन दुवै देशका प्रधानमन्त्रीसँग समय प्राप्त हुने अपेक्षा नेपाल सरकारको छ।

    परराष्ट्र मन्त्रालयले ईपीजी प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरेको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नियमित पत्रकार सम्मेलनमा प्रतिवेदन बुझाउने विषयमा सरकार आशावादी रहेको बताएका छन्।

    ईपीजीको नेपाली टोलीका संयोजक भेषबहादुर थापाले आफूसँग रहेको प्रतिवेदनको साँचो उमेरका कारण २०८३ जेठ २१ गते परराष्ट्र सचिवलाई हस्तान्तरण गरेका थिए। त्यससँगै प्रतिवेदन बुझाउने प्रक्रियामा नयाँ चरण सुरु भएको छ।

    ईपीजी गठन हुँदादेखि नै दुवै देशका प्रधानमन्त्रीसमक्ष प्रतिवेदन प्रस्तुत गर्ने सहमति बनेको थियो। उक्त सहमतिअनुसार पहिले भारतीय प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    प्रवक्ता क्षेत्रीले दुवै प्रधानमन्त्रीसमक्ष प्रतिवेदन प्रस्तुत गर्न आवश्यक समय प्राप्त हुने विश्वास व्यक्त गर्दै प्रतिवेदनमा समेटिएका द्विपक्षीय विषयलाई दुवै देशले संयुक्त रूपमा अघि बढाउनुपर्ने सरकारको धारणा रहेको स्पष्ट पारे।

    भारत भ्रमणपछि द्विपक्षीय सम्बन्धका विषयमा नयाँ पहल:

    यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष र समग्र रूपमा अघि बढाउन संयुक्त भिजन डकुमेन्टमार्फत दिशा निर्देश गरेको मन्त्रालयले जनाएको छ।

    प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गरेका थिए। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको छलफलपछि दुवै देशले संयुक्त पत्रकार सम्मेलनमार्फत भिजन डकुमेन्ट सार्वजनिक गरेका थिए।

    उक्त दस्तावेजमा नेपाल–भारत सम्बन्धका विभिन्न आयाम समेटिएका छन्। त्यसको कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाले सम्बन्धित सरकारी निकायसँग पत्राचार र समन्वय गरिसकेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

    त्यस्तै, प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमासम्बन्धी बाँकी समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको पनि मन्त्रालयले जनाएको छ।

    सीमा विवाद समाधानको प्रक्रिया अघि बढाउन दुवै देशका परराष्ट्र सचिव र विदेश सचिवलाई निर्देशन दिइएको छ। दुवै पक्षलाई अनुकूल हुने समयमा सचिवस्तरीय बैठक बसेर लामो समयदेखि थाँती रहेका सीमा सम्बन्धी विषयमा छलफल तथा समाधानको प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ।

    यसरी ईपीजी प्रतिवेदन बुझाउने अपेक्षासँगै संयुक्त भिजन डकुमेन्ट कार्यान्वयन र सीमा समस्याको समाधानलाई पनि नेपाल–भारत सम्बन्धको आगामी प्राथमिकताका रूपमा अघि सारिएको छ।