दैलेख — वर्षौंदेखि रोकिएको दैलेखको जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास उत्खनन परियोजनालाई अघि बढाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चासो देखाएका छन्। उनले ग्यास उत्खननलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता जनाएका हुन्।
शनिबार साँझ भैरवी गाउँपालिका–१ स्थित जलजले ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्दै लामिछानेले परियोजनाको प्रगति र पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।
अवलोकनका क्रममा उनले दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङको काम सम्पन्न भए पनि पछिल्लो एक वर्षदेखि परीक्षण प्रक्रिया रोकिएकोप्रति चासो व्यक्त गरे। परीक्षणको काम अघि नबढ्दा करोडौँ मूल्यका संवेदनशील उपकरणमा खिया लाग्न थालेको अवस्थाले थप चिन्ता बढाएको उनको भनाइ थियो।
लामिछानेले ग्यास उत्पादनको सम्भावना खोज्न जति आवश्यक छ, त्यति नै अहिले प्रयोग भइरहेका महँगा उपकरणको संरक्षण गर्नुपर्नेमा जोड दिए। प्राविधिक काम कहाँ र किन रोकिएको हो भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको उनले बताए।
उनले लामो समयदेखि रोकिएको ‘वेल टेस्ट’ र व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालय तथा विज्ञहरूसँग परामर्श गर्ने प्रतिबद्धता पनि जनाए।
प्रयोगशाला परीक्षणबाट जलजले क्षेत्रमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यास रहेको पुष्टि भएको उल्लेख गर्दै उनले यसले नेपालको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने सम्भावना रहेको बताए। यो आयोजना सम्पन्न भए कर्णालीको आर्थिक तथा सामाजिक विकासमा ठूलो परिवर्तन आउन सक्ने उनको भनाइ छ।
नेपाल र चीनबीचको समझदारीअनुसार विसं २०७६ फागुनमा विस्तृत अन्वेषण सम्झौता गरी ४५ रोपनी जग्गा अधिग्रहण गरेर परियोजना अघि बढाइएको थियो।
लामिछानेले जलजले परियोजनालाई राष्ट्रिय समृद्धिको आधारका रूपमा व्याख्या गर्दै उत्खनन कार्यलाई पूर्णता दिन निरन्तर पहल गर्ने बताए। विस्तृत अध्ययनपछि ठोस कदम चालिने र कर्णालीवासीले छिट्टै सकारात्मक सन्देश पाउने उनको दाबी थियो।
यसअघि नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले लामिछानेलाई परियोजनाको हालसम्मको प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।