साउदी अरबको सुरक्षा तनावले नेपाली यात्रु प्रभावित, एयरलाइन्सले बढाए उडान प्रतिबन्ध - Chaitanya News
  • 2026-11-29
  • 08:50:16
  • आइतबार,मंसिर १४, २०८३
  • साउदी अरबको सुरक्षा तनावले नेपाली यात्रु प्रभावित, एयरलाइन्सले बढाए उडान प्रतिबन्ध

    साउदी अरबको सुरक्षा तनावले नेपाली यात्रु प्रभावित, एयरलाइन्सले बढाए उडान प्रतिबन्ध

    काठमाडौं — साउदी अरबमा बढ्दो सुरक्षा जोखिमका कारण नेपाल र भारतका एयरलाइन्सको हवाई सेवा प्रभावित भएको छ। क्षेत्रीय सुरक्षा अवस्था सामान्य नभएपछि विभिन्न एयरलाइन्सले साउदी अरबका प्रमुख गन्तव्यमा उडान स्थगनको अवधि लम्ब्याएका छन्। यसले नेपाल–साउदी आवतजावत गर्ने यात्रुलाई थप अन्योलमा पारेको छ।

    यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेपछि अन्तर्राष्ट्रिय हवाई सेवामा असर परेको हो। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमसहित भारतका प्रमुख एयरलाइन्सले उडान कटौती तथा स्थगनलाई निरन्तरता दिएका छन्।

    नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का काठमाडौं–दमाम र दमाम–काठमाडौं उडानसमेत प्रभावित भएका छन्। निगमले पछिल्लोपटक नोभेम्बर २८ र २९ अर्थात् मङ्सिर १२ र १३ गतेका दुवै तर्फका उडान रद्द गरेको छ। अर्को उडान मिति भने सार्वजनिक गरिएको छैन।

    निगमका अनुसार साउदी अरबको पछिल्लो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै यात्रुको सुरक्षाका लागि उडान रद्द गर्ने निर्णय गरिएको हो। उडान प्रभावित यात्रुले टिकटको मिति निःशुल्क परिवर्तन गर्न वा टिकट रद्द गरी पूर्ण रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ।

     भारतीय एयरलाइन्सले पनि बढाए स्थगन अवधि:

    साउदी अरबको सुरक्षा अवस्थाका कारण भारतीय एयरलाइन्सले पनि उडान प्रतिबन्धको अवधि थप गरेका छन्।

    अकासा एयरले रियादका लागि हुने उडान जनवरी ३१, २०२७ सम्म र जेद्दाहका लागि हुने उडान जनवरी १०, २०२७ सम्म स्थगित गरेको छ। यसअघि यी दुवै गन्तव्यका उडान नोभेम्बर ३० सम्मका लागि रोकिएका थिए।

    यस्तै, एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसले रियाद तथा दमामका उडान नोभेम्बर ३० सम्म स्थगित गरेका छन्। इन्डिगोले पनि जेद्दाह, मदिना, रियाद र दमामका उडान सोही मितिसम्म रोक्ने निर्णय गरेको छ।

    एयरलाइन्सहरूले यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकता दिँदै उडान स्थगनको अवधि बढाएको जनाएका छन्। यात्रुलाई समयमै जानकारी उपलब्ध गराउने तथा टिकट पुनः तालिका मिलाउन वा रकम फिर्ता लिन सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको उनीहरूको भनाइ छ।

     आक्रमणपछि सामान्य हुन सकेन हवाई सेवा:

    यसअघि अक्टोबरमा रियाद विमानस्थललाई लक्षित गरी आक्रमण भएपछि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले साउदी अरबका गन्तव्यमा उडान रद्द तथा स्थगित गरेका थिए।

    रियाद विमानस्थल पुनः सञ्चालनमा आए पनि सुरक्षा प्रतिबन्ध र साउदी अरबको नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिनुपर्ने व्यवस्थाका कारण हवाई सेवा पूर्ण रूपमा सामान्य हुन सकेको छैन।

    हुथी विद्रोहीका पछिल्ला आक्रमणमा एक नेपालीको मृत्यु भएको छ भने तीन नेपाली घाइते भएका छन्। यसले साउदी अरबमा रहेका नेपाली समुदायको सुरक्षालाई लिएर पनि चिन्ता बढाएको छ।

    साउदी अरबमा ठूलो सङ्ख्यामा नेपाली श्रमिक कार्यरत छन्। उडान स्थगन लम्बिँदा रोजगारीका लागि साउदी जान तयारीमा रहेका नेपाली तथा बिदामा नेपाल फर्कन चाहने श्रमिकसमेत प्रभावित भएका छन्। हवाई सेवा कहिलेदेखि नियमित हुन्छ भन्ने अनिश्चितताले यात्रुहरूलाई थप समस्यामा पारेको छ।