विद्युत् व्यापारबाट चार महिनामै २० अर्ब बढी आम्दानी, असोजमा सबैभन्दा धेरै निर्यात - Chaitanya News
  • 2026-11-29
  • 11:55:09
  • आइतबार,मंसिर १४, २०८३
  • विद्युत् व्यापारबाट चार महिनामै २० अर्ब बढी आम्दानी, असोजमा सबैभन्दा धेरै निर्यात

    विद्युत् व्यापारबाट चार महिनामै २० अर्ब बढी आम्दानी, असोजमा सबैभन्दा धेरै निर्यात

    काठमाडौं– नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामै विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। आन्तरिक माग पूरा गरेपछि बचत भएको वर्षायामको विद्युत् भारत र बंगलादेशमा बिक्री गर्दा प्राधिकरणले उक्त आम्दानी गरेको हो।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनदेखि कात्तिकसम्म २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् निर्यात गरिएको छ। यसबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ प्राप्त भएको प्राधिकरणको केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । चार महिनाको अवधिमा विद्युत् बिक्रीको औसत मूल्य प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ।

    महिनागत विवरण हेर्दा असोजमा सबैभन्दा बढी विद्युत् निर्यात भएको छ। उक्त महिनामा ६५ करोड ९ लाख युनिट विद्युत् बिक्री गरी ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ आम्दानी भएको थियो। असोजमा प्रतियुनिट औसत बिक्री मूल्य ९ रुपैयाँ ३१ पैसा पुगेको थियो।

    त्यस्तै साउनमा ६२ करोड ९८ लाख युनिट विद्युत् निर्यातबाट ५ अर्ब १३ करोड ३९ लाख रुपैयाँ र भदौमा ५७ करोड ८७ लाख युनिट निर्यातबाट ५ अर्ब २२ करोड ९२ लाख रुपैयाँ आम्दानी भएको थियो।

    कात्तिकमा भने ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको छ। उक्त महिनाको औसत बिक्री मूल्य प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको प्राधिकरणले जनाएको छ।

    प्राधिकरणले बचत भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी मूल्यमा बिक्री गर्दै आएको छ । यसका अतिरिक्त द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा समेत विद्युत् आपूर्ति भइरहेको छ।

    नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा पनि विद्युत् निर्यात हुँदै आएको छ । हरेक वर्ष वर्षायामका छ महिना अर्थात् जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा विद्युत् बिक्री गर्ने व्यवस्था छ। भारतसँगको विद्युत् कारोबार भारतीय रुपैयाँमा र बंगलादेशसँगको कारोबार अमेरिकी डलरमा हुने गरेको छ।

    प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीले विद्युत् उत्पादन र प्रसारण संरचनामा क्षति पुर्‍याउँदा केही आयोजनाको उत्पादन बन्द भएको थियो। त्यसको असर चालु वर्षको विद्युत् निर्यातमा परेको उनले बताए।

    निर्यात अनुमति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि बाँकी रहेको विद्युत् उल्लेख्य परिमाणमा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सफल भएको उनको भनाइ छ।

    यसअघि गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरेर २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो। सोही वर्ष १ अर्ब १७ करोड युनिट विद्युत् आयात गर्दा १० अर्ब ५६ करोड रुपैयाँ खर्च भएको थियो ।

    यसरी गत आर्थिक वर्षमा विद्युत् आयातमा भएको खर्चभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । पछिल्ला दुई वर्षदेखि नेपाल विद्युत्को खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको छ।