काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका छन्। सम्पत्ति छानबिन र विगतमा अनुसन्धानका लागि थन्क्याइएका फाइल पुनः खोल्ने विषयमा कांग्रेस तयार रहेको उनले स्पष्ट पारेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘हामी तयार छौं अभियान’ अन्तर्गत स्थानीय तहका प्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले सार्वजनिक पदमा बसेका प्रत्येक व्यक्तिको सम्पत्ति विवरण जाँचबुझ हुनुपर्ने बताएका हुन्।
उनले २०४६ सालदेखि सार्वजनिक जिम्मेवारीमा रहेका सबैको सम्पत्ति छानबिन गर्न र यसअघि अनुसन्धानका क्रममा थन्क्याइएका फाइलमाथि समेत पुनः अनुसन्धान अघि बढाउन सरकारलाई आग्रह गरे।
‘२०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका प्रत्येक व्यक्तिको सम्पत्ति विवरण जाँचबुझ गरौँ। अहिलेसम्म अनुसन्धान भएर थन्क्याइएका जति पनि फाइल छन्, ती सबैको अनुसन्धान गरौँ। प्रत्येक कुरामा नेपाली कांग्रेस खुला छ,’ उनले भने।
थापाले यस विषयमा जनतामाझ जाँदा स्पष्ट धारणा राख्न स्थानीय तहका पार्टी प्रतिनिधिहरूलाई निर्देशनसमेत दिए।
तर, सम्पत्ति छानबिनका नाममा कसैलाई दुःख दिने नियत राख्न नहुने उनको भनाइ छ। अनुसन्धान कानुनसम्मत हुनुपर्ने र राज्यका अनुसन्धान गर्ने निकायहरू कानुनअनुसार नै चल्नुपर्ने उनले बताए।
कांग्रेसमा आबद्ध कुनै व्यक्तिले गलत काम गरेको प्रमाणित भए कारबाही हुनुपर्नेमा पार्टी स्पष्ट रहेको उल्लेख गर्दै थापाले गलत नगरेको व्यक्तिलाई राजनीतिक प्रतिशोधका आधारमा दुःख दिने काम भने स्वीकार्य नहुने बताए।
उनले यही मापदण्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत सबै राजनीतिक दलका नेताका हकमा पनि लागू हुनुपर्ने धारणा राखे।
कुनै नेता वा मन्त्रीको नाम जोडिँदैमा उनी स्वतः दोषी नहुने भन्दै थापाले गल्ती गरेको भए पद र दलको कुनै प्रभाव नराखी कानुनअनुसार अनुसन्धान र कारबाही हुनुपर्नेमा जोड दिए। यही सन्देश जनतामाझ पुर्याउन उनले स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रह गरे।