दूधको गुणस्तर जाँच्दै सरकार, १२९ नमुनाको परीक्षण हुँदै - Chaitanya News
  • 2026-11-29
  • 13:49:44
  • आइतबार,मंसिर १४, २०८३
  • दूधको गुणस्तर जाँच्दै सरकार, १२९ नमुनाको परीक्षण हुँदै

    दूधको गुणस्तर जाँच्दै सरकार, १२९ नमुनाको परीक्षण हुँदै

    काठमाडौँ– बजारमा बिक्री भइरहेको दूध तथा दुग्धजन्य पदार्थको गुणस्तरमाथि प्रश्न उठेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संकलन गरेका दूधका नमुना परीक्षण गर्दा हालसम्म नौ वटाको नतिजा प्रतिकूल पाइएको छ।

    विभागका अनुसार विभिन्न स्थानबाट संकलित १२९ नमुनामध्ये ५४ वटाको परीक्षण सम्पन्न भएको छ। परीक्षण गरिएका नमुनामध्ये गाईको दूध, भैँसीको दूध र मिश्रित दूधका तीन–तीन वटा नमुनामा गुणस्तरसम्बन्धी समस्या देखिएको हो।

    दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर निगरानी गर्ने क्रममा विभाग र मातहतका कार्यालयले पाँच दिनमा ११५ वटा डेरी पसल तथा व्यवसायको अनुगमन र निरीक्षण गरेका थिए। सोही क्रममा बिक्रीका लागि राखिएका विभिन्न प्रकारका दूध तथा दुग्धजन्य पदार्थका नमुना संकलन गरिएको थियो।

    विभागले संकलन गरेका नमुनामध्ये खुला मिश्रित दूधका ७४, भैँसीको खुला दूधका १३ र गाईको खुला दूधका सात वटा छन्। त्यस्तै, दहीका ३१, पनिरका तीन र खुवाको एउटा नमुना परीक्षणका लागि संकलन गरिएको थियो।

    परीक्षणका क्रममा दूधमा रहेको चिल्लो पदार्थ (फ्याट), चिल्लोबाहेकका ठोस पदार्थ (एसएनएफ) तथा सम्भावित मिसावटको अवस्थालाई मुख्य आधार बनाइएको विभागले जनाएको छ।

    हालसम्म परीक्षण सम्पन्न भएका ५४ नमुनामध्ये नौ वटाको नतिजा प्रतिकूल देखिए पनि बाँकी नमुनाको विश्लेषण जारी रहेको विभागले जनाएको छ। सबै नमुनाको परीक्षण सकिएपछि दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर अवस्थाबारे थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।